ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी–त्रिशूलीको प्रलय : जहाँ घर थिए, त्यहाँ अहिले भग्नावशेष मात्रै


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ७ : २५   बजे

बेत्रावती (नुवाकोट), १४ भदौ । नुवाकोटको आकाशमा छिनछिनमा हेलिकोप्टर उडिरहेका छन्। भोटेकोसी–त्रिशूलीमा आएको विनाशकारी बाढीले एक बजारबाट अर्को बजार जोड्ने सडक क्षतविक्षत बनाएको छ। सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा अहिले आफैँमा चुनौती बनेको छ।

नुवाकोट र रसुवालाई जोड्ने त्रिशूली नदी आसपासको महत्वपूर्ण संगमस्थल बेत्रावती पाँच दिनअघिसम्म मानिस र सवारीसाधनको चहलपहलले भरिएको व्यस्त बजार थियो। केही मिनेटमै आएको भीषण बाढीले भने बेत्रावतीको परिचित दृश्य पूरै बदलिदिएको छ।

जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा, माटो, गेग्य्रान र भग्नावशेष छन्। कतै आधा ढलेका संरचना छन्, कतै बाढीले अन्यत्रबाट बगाएर ल्याएका घरायसी सामान र संरचना थुप्रिएका छन्।

‘बाढी आउँछ भन्ने थाहा थियो, यस्तो आउँछ भन्ने थाहा थिएन’

घटनाको चार दिनपछि वैकल्पिक बाटो हुँदै करिब तीन घण्टाको कच्ची सडक यात्रा गरेर हामी बेत्रावती बजार पुगेका थियौँ। त्यहाँ भेटिए स्थानीय इन्द्रबहादुर मगर।

उनले बाढी आउनुअघिको बेत्रावती र अहिलेको अवस्थाको कथा सुनाए।

उनका अनुसार बाढी आउँदैछ भन्ने जानकारी पाएपछि सुरक्षित स्थानमा भाग्न स्थानीयसँग चार–पाँच मिनेटभन्दा बढी समय थिएन।

“हामीलाई बाढी आउँदैछ भन्ने थाहा भएको जम्मा चार–पाँच मिनेटअघि मात्रै हो। यति ठूलो बाढी आउला भनेर कसैले सोचेको पनि थिएन,” उनले घटनाको दिन सम्झिए।

उनका अनुसार पुलको एकातर्फ मात्रै करिब १२० देखि १२५ घर थिए। पुलपारिको नयाँपुल क्षेत्रमा पनि करिब सय घर थिए। आसपासका बस्तीसमेत जोड्दा सयौँ घर प्रभावित भएका छन्।

तर अहिले बेत्रावतीका बासिन्दाका लागि सबैभन्दा ठूलो चिन्ता घर र सम्पत्तिको क्षति होइन। उनीहरूको एउटै प्रश्न छ—हाम्रा मान्छे कहाँ छन्?

इन्द्रबहादुरको अनुमानमा बेत्रावतीका झन्डै आधा मानिस सम्पर्कविहीन छन्।

“जनसंख्याको झन्डै ५० प्रतिशत मान्छे हराइरहेका छन्। कसैको परिवारका दुईजना गए, कसैको तीनजना। कतिपय घरमा एकजना बाँचेका छन्, कतिपयको त कोही पनि बाँकी छैन,” उनले भने।

बाढी आएको दिन मगर आफैँ रसुवातिर थिए। उनको परिवार भने बेत्रावतीस्थित घरमै थियो।

स्थानीय आनन्दलाल श्रेष्ठले मगरकी छोरी अनितालाई खोला बढिरहेको खबर दिएका थिए। खबर पाएलगत्तै अनिता घरबाट बाहिर निस्किइन्। उनका छोरा पनि उनीसँगै थिए। केही मिनेटको त्यो दौडले उनीहरूको ज्यान जोगियो।

“मेरी छोरी र नाति बाँच्नुभयो। छिमेकीले खबर नगरेको भए के हुन्थ्यो, थाहा छैन,” मगरले भने।

स्थानीयका अनुसार सडक पार गर्न नपाउँदै बाढीले मानिसहरूलाई बगाउन थालेको थियो। घरभित्र रहेका, भाग्न खोजिरहेका र सुरक्षित स्थान खोजिरहेका धेरै मानिस एकैछिनमा भीषण भेलमा परे।

इन्द्रबहादुरको आफ्नै घर पनि बाढीले बगायो।

“अहिले म माथिको गाउँमा गएर बसेको छु। पहिले एउटा सानो एक कोठाको घर थियो। अहिले त्यहीँ बसिरहेका छौँ। यहाँ आएर हेर्दा पनि केही बाँकी छैन,” उनले दुःख सुनाए।

घटनापछि उनले परिवारलाई काठमाडौं पठाएका छन्। आफू भने बेत्रावतीमै छन्।

“१० वटा बंगुर छन्। दाना–पानी दिनुपर्छ भनेर फर्केर आउँछु,” उनले भने, “परिवारलाई काठमाडौं पठाएँ। म फेरि दाना लिएर यहाँ आउँछु अनि फेरि बास बस्न माथि गाउँमै फर्किन्छु।”

बाढी त पहिले पनि आउँथ्यो, यस्तो कहिल्यै आएन

बेत्रावती आसपासका बासिन्दा खोलाको बाढीसँग अपरिचित थिएनन्। सानातिना बाढी आउने भएकाले पहिले मानिसहरू पुलमा उभिएर खोला हेर्ने गर्थे।

तर यसपटकको बाढीले वर्षौँदेखिको अनुभव र अनुमानलाई गलत साबित गरिदियो।

“खोला त पहिले पनि बढ्थ्यो। बाढी आयो भने हेर्न पनि जान्थ्यौँ। तर, यस्तो सबै बस्ती नै लैजाने गरी आउँछ भन्ने कसैले सोचेको थिएन,” मगरले भने।

शव खोज्नै चुनौती

बेत्रावतीमा अहिले प्रहरी र सुरक्षाकर्मीको प्रमुख काम बनेको छ—बाढीले बगाएकाको खोजी र शव व्यवस्थापन।

नेपाल प्रहरी प्रधान कार्यालयबाट शव व्यवस्थापनका लागि प्रहरी वरिष्ठ उपरीक्षक विमलदास कँडेलको नेतृत्वमा टोली बेत्रावतीमा खटिएको छ।

उनका अनुसार बेत्रावती क्षेत्रमा एकै दिनमा ६ वटासम्म शव भेटिएका छन्। नजिकैको उत्तरगया विद्यालय क्षेत्रमा थप तीनवटा शव भेटिएका छन्। तीमध्ये एक जना विद्यालयका विद्यार्थी र दुई जना महिला रहेको प्रहरीले जनाएको छ।

तर शव सुरक्षित रूपमा बाहिर निकाल्नु नै सुरक्षाकर्मीका लागि चुनौती बनेको छ।

बाढीले थुपारेको मलबा, दलदल र क्षतिग्रस्त भूगोलका कारण घटनास्थलसम्म पुग्न र शव बाहिर निकाल्न कठिन भइरहेको छ। कतिपय ठाउँमा सडकसमेत छैन। केही शव निकाल्न हेलिकोप्टरको सहयोग लिनुपर्ने अवस्था छ।

“केही ठाउँमा हेलिकोप्टर अवतरण गर्न पनि सकिँदैन। होभरिङ गरेर शव उठाउनुपर्ने अवस्था छ,” कँडेलले भने।

बस्ती छैन। बस्ने ठाउँ छैन। खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी आफैँ पनि कठिन परिस्थितिमा काम गरिरहेका छन्।

बाढी प्रभावित क्षेत्रमा बस्न मिल्ने घर एकाध मात्र छन्। अधिकांश घरमा क्षति पुगेको छ भने धेरै स्थानीय सुरक्षित स्थानतर्फ गइसकेका छन्।

खाना र बसोबासको समस्या पनि उत्तिकै छ। सामान्य लजिस्टिक सहयोगका लागि समेत जिल्ला सदरमुकाम विदुरसम्म पुग्न करिब तीन घण्टा लाग्छ। आउजाउमै करिब ६ घण्टा बित्ने भएकाले खोजीमा खटिएका टोलीका लागि आवश्यक सामग्री र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

ज्यान बच्यो, तर अभावै–अभाव

बाढीबाट जोगिएका धेरै परिवार अहिले माथिल्लो गाउँ, आफन्तको घर र काठमाडौंसम्म पुगेका छन्। सुरक्षित स्थानमा पुगेपछि पनि उनीहरूको समस्या सकिएको छैन।

बाढीपीडितहरू पुगेका गाउँमा खानेकुराको अभाव हुन थालेको छ। स्थानीयसँग भएका चामल, पिठो र अन्य खाद्य सामग्री सकिन थालेका छन्।

“मान्छेहरू गाउँमा गएर बसेका छन्। पहिलेका गाउँलेलाई त पुग्थ्यो,” इन्द्रबहादुरले भने, “तर यतिका पीडितहरू गएपछि सबैलाई खुवाउनुपरेको छ। चामल र पिठो सकिन थालेको छ।”

विद्युत् आपूर्ति नहुँदा समस्या झन् थपिएको छ। गाउँमा धान, मकै र अन्य खाद्यान्न नभएको होइन। तर त्यसलाई प्रशोधन गरेर खान सक्ने अवस्था छैन।

सरकारी राहत पर्याप्त रूपमा नपुगेको गुनासो पनि स्थानीयको छ। केही व्यक्तिगत संस्था, समुदाय र संगठनले राहत वितरण गरे पनि सबै प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको उनीहरूको भनाइ छ।

बेत्रावतीमा त्रिशूलीको बहाव घटिसकेको छ। तर पीडा घटेको छैन।

कोही आफ्ना हराएका परिवारका सदस्यको खोजीमा छन्। कोही शव पहिचान हुने प्रतीक्षामा छन्। कुनै परिवार अस्थायी बसोबासमा भोक र अभावसँग जुधिरहेको छ।

बगिसकेको बस्तीको बीचमा उभिएर इन्द्रबहादुर मगरसहित जीवनभर बेत्रावतीमा बिताएकाहरू भदौ १० गतेको घटना अझै विश्वास गर्न सकिरहेका छैनन्।

तर आँखैअघि मच्चिएको त्यो प्रलय अब सत्य बनेर उनीहरूकै अगाडि छ।

जहाँ सयौँ घर थिए, बाक्लो बस्ती थियो, त्यहाँ आज घर छैनन्—बाँकी छ त केवल मलबा, भग्नावशेष र आफन्तको खोजीमा भौँतारिइरहेका मानिसहरूको पीडा।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ७८८ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

गोलाघाट क्षेत्रमा सेनाको खोज तथा उद्धार जारी, ७० शव फेला

भोटेकोसी–त्रिशूली बाढी : शव व्यवस्थापनमा आफन्तको अनुमति नलिएको भन्दै कांग्रेसको आपत्ति

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, सकुशल भेटिने आश क्षीण

बागलुङमा अवैध काठ ओसारपसार गर्ने तीन जना पक्राउ

ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसमा फलफूल वितरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu