काठमाडौं, १४ भदौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको थुनिएको सुरुङभित्र फसेका श्रमिकको खोजी तथा उद्धार कार्य जारी छ।
भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीपछि आयोजनामा कार्यरत केही श्रमिक सम्पर्कविहीन भएका थिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि सम्पर्कविहीन भएका २ हजार ५०२ जनामध्ये ठूलो संख्या विभिन्न जलविद्युत् आयोजनामा कार्यरत श्रमिकको रहेको छ।
गृहमन्त्री सुधन गुरुङका अनुसार उद्धार टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। सुरुङभित्र हावा र अक्सिजन पठाउन सानो प्वालसमेत पारिएको छ। अब उक्त प्वाललाई ठूलो बनाएर उद्धार टोलीलाई सुरुङभित्र प्रवेश गराउने तयारी भइरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार सुरुङभित्र फसेका श्रमिकसँग अहिलेसम्म प्रत्यक्ष सम्पर्क स्थापित हुन सकेको छैन। लगातारको वर्षा र नदीमा पानीको बहाव बढिरहेका कारण उद्धार कार्यमा चुनौती थपिएको उनले बताए।
उद्धारका लागि फ्रन्ट फेसमा हालसम्म चारवटा प्वाल ड्रिलिङ गरिएको छ। प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी श्रमिकको खोजी तथा उद्धार अघि बढाउने तयारी गरिएको छ।
सुरुङभित्रको जटिल उद्धार कार्यका लागि भारत र चीनका विज्ञ टोलीसमेत अत्याधुनिक उपकरणसहित कार्यक्षेत्रमा खटिएका छन्। उद्धार टोलीले उपलब्ध प्रविधि र उपकरणको प्रयोग गर्दै सुरुङभित्र फसेका श्रमिकसम्म पुग्ने प्रयास गरिरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्