पोखरा, १४ भदौ । भोटेकोसी बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि सरकारले माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि हेलिकोप्टरमार्फत स्काभेटर र डोजरका उपकरण पुर्याएको छ।
Originally published on abcnews.com.np.
पोखरा, १४ भदौ । भोटेकोसी बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि सरकारले माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि हेलिकोप्टरमार्फत स्काभेटर र डोजरका उपकरण पुर्याएको छ।
उद्धार कार्यमा कठिनाइ भएपछि स्काभेटर र डोजरका पार्टपुर्जा छुट्टाछुट्टै गरी हेलिकोप्टरमार्फत आयोजनास्थलसम्म लैजाने काम भइरहेको हो।
नेपाली सेनाले ती उपकरण नुवाकोटको बट्टारसम्म पुर्याएको थियो। त्यसपछि स्काभेटर र डोजरलाई खण्ड–खण्डमा छुट्याएर हेलिकोप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको जनाइएको छ।
आयोजनास्थलमा उद्धार प्रयास जारी रहे पनि गएराति आएको भीषण बाढी तथा बिहान पुनः नदीको बहाव बढेपछि उद्धार कार्यमा थप कठिनाइ भएको छ। यद्यपि सुरक्षाकर्मीले उद्धार प्रयास निरन्तर जारी राखेका छन्।
नेपाली सेनाका अनुसार करिब एक घण्टाभित्र सुरुङको प्रवेशद्वार खोल्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रवेशद्वार खुलेपछि मात्रै सुरुङभित्र फसेका मानिसको खोजी तथा उद्धार कार्य अघि बढाइनेछ।
बिहान पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको बताइएको छ। नदीको सतह बढेपछि आयोजना क्षेत्रको किनार तीव्र रूपमा कटान हुन थालेको छ।
यस्तै, पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’को टनेल पोर्टल तथा पावर हाउसको निगरानीका लागि प्रयोग भएका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सलगायत उपकरण सुरक्षित रूपमा निकाल्ने तयारीसमेत गरिएको छ।
ती उपकरण निकाल्न नेपाली सेनाको विशेष फोर्सलाई हेलिकोप्टरमार्फत आयोजनास्थलमा परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्