पोखरा, १४ भदौ । नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले विस्फोट गराउनेसम्मका प्रयास अघि बढाएका छन्।
उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली अहोरात्र खटिएको छ।
आइतबार दिउँसो २ बजे उद्धार टोली सुरुङको मुख्य भाग ‘क्राउन हेड’सम्म पुगेर २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। त्यसपछि डोरीको सहायताले टोली तल झरेर सुरुङभित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउने रणनीति अपनाइएको हो।
हाल घटनास्थलमा ठूला उपकरण प्रयोग गरी सुरुङ खोतल्ने, प्वाल फराकिलो पार्ने तथा आवश्यक स्थानमा विस्फोट गराउने तयारीसहितका काम एकसाथ अघि बढाइएको छ।
अत्यन्त कठिन र जोखिमपूर्ण भौगोलिक अवस्थाका बाबजुद सुरक्षाकर्मीले सुरुङभित्र फसेकाहरूको अवस्थाबारे यकिन गर्दै सुरक्षित उद्धारका लागि निरन्तर प्रयास गरिरहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्