चितवन, भदौ १४ गते । रसुवामा आएको बाढीका कारण नारायणी नदीमा बगाएर ल्याइएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि चितवनको नारायणी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
भदौ १० गते बिहान बाढी आएलगत्तै श्री नयाँ गोरख गणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार सुरु गरेको गणपति प्रमुख सेनानी राजेन्द्र बानियाँले जानकारी दिनुभयो।
उहाँका अनुसार खोज तथा उद्धारका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत गोलाघाट, दिव्यपुरी, गजिपुरलगायत विभिन्न स्थानबाट हालसम्म ७० वटा शव फेला पारिएको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाइएको उहाँले बताउनुभयो।
बाढीपछि नारायणी नदीमा बगाएर ल्याइएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदीका विभिन्न क्षेत्रमा निरन्तर निगरानी तथा खोजी गरिरहेको छ।
नारायणी नदीमा पानीको बहाव, नदीको फैलावट तथा आसपासको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्