काठमाडौँ । काठमाडौँको जडीबुटीस्थित ‘क्लब १८’मा आगामी भदौ १७ गते अर्थात् सेप्टेम्बर २ मा र्यापर डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट आयोजना हुने भएको छ।
मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर आयोजना गर्न लागिएको उक्त कन्सर्टबाट संकलित रकम बाढीपीडितको राहत तथा सहयोगमा खर्च गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा ‘जनचेतना’ बोलको मैथिली र्यापमार्फत चर्चामा आएका र्यापर यादव सरकारको मुख्य प्रस्तुति रहनेछ। यस्तै, गायक आश्रम थिङ र गायिका अनिशा तामाङले पनि प्रस्तुति दिनेछन्।
क्लब १८का सञ्चालक सुजन श्रेष्ठका अनुसार कार्यक्रमको डोर सेल्सबाट उठेको सम्पूर्ण रकम बाढी प्रभावित परिवारको राहत तथा सहयोगमा प्रयोग गरिनेछ।
“देशका विभिन्न ठाउँमा बाढी र प्राकृतिक विपत्तिका कारण धेरै नागरिक प्रभावित भएका छन्। यस्तो अवस्थामा कलाकार र संगीतप्रेमीलाई एउटै ठाउँमा जोडेर कार्यक्रमबाट उठेको रकम पीडितको सहयोगमा प्रयोग गर्ने उद्देश्य हो,” श्रेष्ठले भन्नुभयो, “संगीतमार्फत सामाजिक सहयोग गर्ने हाम्रो सानो प्रयास हो।”
कन्सर्ट राति ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन अनलाइन टिकट बुकिङको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकले संगीतप्रेमीलाई कार्यक्रममा सहभागी भई मनोरञ्जनसँगै बाढीपीडितको सहयोगमा योगदान गर्न आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्