बागलुङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बागलुङका १६ जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरीका अनुसार तमानखोला गाउँपालिकाका नौ, बागलुङ नगरपालिकाका दुई बालकसहित चार, ढोरपाटन नगरपालिकाका दुई र गलकोट नगरपालिकाका एक जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीनमध्ये तमानखोला–१ का विष्णु घर्तीमगर रसुवामा डेढ वर्षदेखि काम गर्दै आएका थिए। बाढीपछि भाइसँग सम्पर्क हुन नसकेको भीमबहादुर घर्तीले बताए।
“रसुवा पुगेर म भर्खरै काठमाडौँ आइपुगेको छु। अस्पतालहरूमा भाइ पनि छ कि भनेर खोज्दै छु,” उनले भने।
तीन दिनसम्म सम्पर्कविहीन नागरिकको अवस्थाबारे कुनै जानकारी नआएपछि तमानखोला गाउँपालिकाको टोली उनीहरूको खोजीका लागि रसुवा गएको छ। गाउँपालिका अध्यक्ष जोकलाल बुढाका अनुसार सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजनामा कार्यरत छन्।
“बेपत्तामध्ये अधिकांश जलविद्युत् आयोजनामा काम गर्नेहरू छन्। हाम्रा नागरिक खोज्न हामी रसुवा जाँदै छौँ,” अध्यक्ष बुढाले भने।
शनिबार गाउँ विपद् व्यवस्थापन समितिको बैठकपछि अध्यक्ष बुढासहित वडा नम्बर २ का अध्यक्ष नारायण सुनार, वडा नम्बर ३ का अध्यक्ष झकबहादुर बुढा र कार्यपालिका सदस्य हिक्मत जक्तपुरी सम्पर्कविहीनका परिवारका सदस्यसहित रसुवा प्रस्थान गरेका हुन्।
यसैबीच गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषबाट सम्पर्कविहीन प्रत्येक व्यक्तिको परिवारलाई ३० हजार रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको छ।
प्रभावित क्षेत्रमा राहत पठाउँदै बागलुङ
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने तयारीसमेत बागलुङमा सुरु भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहत संकलन तथा वितरण समिति गठन गरी खाद्यान्न, लत्ताकपडालगायत सामग्री संकलन थालेको हो।
उद्योगी, व्यवसायी, बैंकर्स, राजनीतिक दल, होटल व्यवसायी, गैरसरकारी संस्था तथा यातायात व्यवसायीलगायतले जिन्सी राहत सामग्री संकलन गरी बागलुङ उद्योग वाणिज्य संघमा जम्मा गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत धादिङको बैरेनी पठाउने तयारी गरिएको छ।
समितिले सोमबारसम्म कम्तीमा एक ट्रक खाद्यान्न तथा लत्ताकपडा संकलन गरी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको समिति संयोजक एवं बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए।
बाढीपीडितलाई खाना खुवाउँदै दुर्गेश थापा
यसैबीच बागलुङको गलकोटका चर्चित गायक दुर्गेश थापा आफ्नो टोलीसहित नुवाकोटको विदुर नगरपालिकामा पुगेर बाढी प्रभावितलाई खाना खुवाउने कार्यमा सक्रिय भएका छन्।
विपत्तिको कठिन समयमा आफूले सकेको सानो सहयोग पनि पीडितका लागि अर्थपूर्ण हुने गायक थापाले बताएका छन्।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्