काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसदहरूले भोटेकोसी बाढीपीडितको राहत तथा उद्धारका लागि कम्तीमा एक महिनाबराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन्। सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। उनका अनुसार बाढीपीडितको तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले संघीय सांसदहरूले न्यूनतम एक महिनाको तलब सहयोग गर्ने निर्णय गरिएको हो। बैठकले बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चारलगायत अत्यावश्यक पूर्वाधार तत्काल पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारसँग आग्रह गरेको छ। कांग्रेसले मुख्य ‘लाइफलाइन’का रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुनसक्ने भन्दै बजार अनुगमन प्रभावकारी बनाउन र सहज आपूर्ति सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। विपद्को समयमा अहोरात्र उद्धार तथा राहतमा खटिएका स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक तथा सञ्चारमाध्यमलाई धन्यवाद दिँदै कांग्रेसले उद्धार तथा पुनर्स्थापनाका लागि राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजलाई एकजुट भएर सहयोग गर्न अपिल गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्