काठमाडौं । भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले सोमबार बिहानसम्म सार्वजनिक गरेको विवरणअनुसार अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन्। बाढी प्रभावित विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका छन्। प्राधिकरणका अनुसार हालसम्म रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ वटा शव फेला परेका छन्। सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन्। त्यस्तै, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३, रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८ तथा विभिन्न जलविद्युत् आयोजनाका ९३३ जना सम्पर्कविहीन छन्। मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यसैगरी ५९२ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीनको सूचीमा छन्। प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विभिन्न सरकारी निकाय तथा उद्धार टोलीले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्