गान्तोक । भारतीय राज्य सिक्किमले नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्रीसहित ३५ सदस्यीय टोली नेपाल पठाएको जनाएको छ।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङका अनुसार भारत सरकार र नेपालस्थित भारतीय दूतावाससँग समन्वय गरी चिकित्सक, स्वयंसेवक तथा आवश्यक राहत सामग्रीसहितको टोली नेपाल पठाइएको हो।
प्रेस ब्रिफिङमा मुख्यमन्त्री तामाङले पहिलो चरणमा करिब ३५ जनाको टोलीसँगै औषधि, पानीलगायत अत्यावश्यक सामग्री पठाइएको जानकारी दिए।
“सिक्किमको पहिलो टोली हामीले जम्मा करिब ३५ जनाको पठाएका छौँ। राहत सामग्रीसँगै औषधि र पानी पनि पठाएका छौँ,” तामाङले भने।
उनका अनुसार टोली पठाउनुअघि नेपालस्थित दूतावास र भारत सरकारसँग आवश्यक समन्वय गरिएको थियो। टोलीमा चिकित्सक तथा स्वयंसेवकसमेत सहभागी छन्।
आवश्यकताअनुसार दोस्रो टोली पनि पठाइने
मुख्यमन्त्री तामाङले स्थलगत अवस्था र आवश्यकताको मूल्यांकनपछि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
“पहिलो टोलीलाई आज पठाएका छौँ। आवश्यकताअनुसार दोस्रो टोली पनि पठाउनेछौँ। ग्राउन्ड जिरोमा पुगेर त्यहाँको स्थिति बुझेपछि के कुराको खाँचो छ, त्यसका लागि पनि हामी तयार छौँ,” उनले भने।
नेपालमा २६ अगस्टमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको र विभिन्न देशका नागरिकसमेत प्रभावित तथा बेपत्ता भएको उल्लेख गर्दै तामाङले मानवीय आधारमा छिमेकी नेपाललाई सहयोग गर्न सिक्किम अघि बढेको बताए।
उनले सिक्किम सरकार र जनताको तर्फबाट गरिएको सहयोगलाई छिमेकी मुलुकप्रतिको ऐक्यबद्धताको सानो प्रयास भएको बताए।
“यो दुःखद घडीमा मानवताको हिसाबमा छिमेकी देशलाई सहयोग गरौँ भनेर पहिलो टोलीलाई पठाएका हौँ,” तामाङले भने।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्