काठमाडौं । नेपाली सेना र विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्रता दिए पनि सोमबार साँझसम्म ठोस उपलब्धि हासिल हुन सकेन।
नेपाली सेनाका अनुसार सोमबार साँझ ७ बजेसम्म माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, चिलिमे, अपर त्रिशूली–१, रसुवागढी र लाङटाङ जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य जारी थियो।
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा टनेल हेड फेला परेको छ। त्यहाँ कम्प्रेसरमार्फत सुरुङभित्र हावा पठाउने तथा पानी निकाल्ने काम भइरहेको सेनाले जनाएको छ। तीनवटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्गसमेत करिब १५ मिटर खोलिएको छ।
त्यस्तै माथिल्लो त्रिशूली–३ बी मा विज्ञसहितको सैनिक टोली परिचालन गरिएको छ। छुट्टै टोलीले एक्साभेटरको प्रयोग गरेर सुरुङमा खोज तथा उद्धारको प्रयास गरिरहेको छ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा विदेशी विशेषज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली करिब ३५ मिटर भित्रसम्म पुगेको सेनाले जनाएको छ। सुरुङको अगाडिको अवरोध हटाउने काम भइरहेको छ।
अपर त्रिशूली–१ आयोजनामा विदेशी विशेषज्ञसहितको टोलीले मैलुङतर्फ करिब २०० मिटर र हाँकूतर्फ करिब ३०० मिटर भित्रसम्म पुगेर खोजी गरिरहेको छ।
त्यस्तै, रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा संयुक्त उद्धार टोली करिब २५० मिटरभित्र पुगेको र सुरुङको बन्द भाग फेला पारेको सेनाले जनाएको छ।
लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार टोली करिब ६५ मिटरभित्रसम्म पुगेको छ। उक्त सुरुङबाट एक जनाको शव निकालिएको सेनाले जनाएको छ।
हेलिकप्टरबाट १०९ जनाको उद्धार
जलविद्युत् आयोजनाका सुरुङमा खोजी केन्द्रित भए पनि नेपाली सेनाले अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
सेनाका अनुसार सोमबार एक जना जर्मन नागरिकसहित १०९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै सेनाले स्थानीयसँग घटनास्थलको अवस्थाबारे जानकारी लिने तथा जोखिममा परेकाको खोजी गर्ने कामसमेत गरिरहेको जनाएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज परिचालन भएका छन्।
सेनाले अन्य सुरक्षा निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचार लगायतका कार्य गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्