चितवन । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा ३४८ शव फेला परेका छन्। तीमध्ये १२ वटा शवको सनाखत भइसकेको छ भने ३३५ वटाको व्यवस्थापन गरिएको र एउटा शव व्यवस्थापन गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो।
शव व्यवस्थापनमा कठिनाइ भएपछि प्रहरीले डिएनए नमूना सङ्कलन गरी शनिबारदेखि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा खाडल खनेर शवको अस्थायी व्यवस्थापन गर्न थालेको हो। शनिबार ९६, आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
व्यवस्थापन गरिएका शवमध्ये १२९ वटाको लिङ्गसमेत पहिचान हुन सकेको छैन। त्यस्तै पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जनाको शव रहेको प्रहरीले जनाएको छ। शवबाट सङ्कलन गरिएका डिएनए नमूना सुरक्षित राखेर अस्थायी रूपमा व्यवस्थापन गरिएको हो। सनाखत भएका शव परीक्षणपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
यसैबीच, हराइरहेका व्यक्तिको पहिचानका लागि चितवनमा आफन्तको डिएनए नमूना सङ्कलनसमेत सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मंगलबारदेखि नमूना सङ्कलन थालेको हो।
प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नमूना सङ्कलन भइरहेको छ। हराइरहेका व्यक्तिका पहिलो तहका आफन्त अर्थात् बुबा, आमा, छोरा वा छोरीमध्ये उपलब्ध कुनै एक जनाको रगतको नमूना डिएनए परीक्षणका लागि लिइनेछ। पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूना पनि प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार शवबाट मुख्यतः दाँत र हड्डीका नमूना सङ्कलन गरी डिएनए प्रोफाइल तयार गरिन्छ। त्यसलाई आफन्तबाट सङ्कलन गरिएको डिएनएसँग म्याचिङ गरेर शवको पहिचान गरिनेछ। नेपालमा उपलब्ध प्रयोगशाला क्षमता तथा वैदेशिक सहयोगसमेत परिचालन गरी करिब १२ हप्ताभित्र डिएनए परीक्षण र म्याचिङ पूरा गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
चितवनबाहिर रहेका आफन्तले सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डिएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ। विदेशमा रहेका आफन्तले भने सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत तथा नेपाल प्रहरीको आधिकारिक प्रक्रियाबाट डिएनए प्रोफाइल उपलब्ध गराउन सक्ने प्रहरीले जनाएको छ।
देवघाटस्थित अस्थायी शव व्यवस्थापनस्थलमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरी दिवङ्गतप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रतिनिधि तथा सर्वसाधारणको सहभागितामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो। रामजानकी बालिका आश्रम देवघाटका कन्याहरूले गीता पाठ गर्नुका साथै विभिन्न धार्मिक समुदायका प्रतिनिधिले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए।
प्रशासनले देवघाटमा गरिएको व्यवस्थापनलाई अन्तिम संस्कार नभई शवको पहिचान नहुँदासम्मका लागि गरिएको अस्थायी व्यवस्थापन मात्र भएको स्पष्ट पारेको छ। नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्