काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं सडकखण्डमा सवारीको चाप बढेको छ । वैकल्पिक मार्गमा सवारीको चाप बढेसँगै यात्राको समयसमेत लम्बिएको छ । सडक व्यवस्थापनका लागि मकवानपुर प्रहरीले प्राथमिकताका साथ काम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफैँ सडकमा खटिएर सवारी आवागमन व्यवस्थापन गरिरहेका छन् । प्रहरीले लामो जाम, साँघुरा सडक र बढ्दो सवारी चापबीच निर्धारित रुटअनुसार सवारी सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक सवारीलाई प्राथमिकता दिने काम गरिरहेको छ । प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीका लागि छुट्टै रुट निर्धारण गरेको छ । हेटौँडाबाट काठमाडौं जाने सवारीले भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौं आउने सवारीले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । ठूला यात्रुवाहक तथा मालवाहक सवारीका लागि काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ । त्रिभुवन राजपथमा रहेको कमजोर बेलिब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टका अनुसार सडकमा ठाउँ–ठाउँमा प्रहरी परिचालन गरी सवारीलाई ‘होल्ड’ गर्ने र समूह बनाएर गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ । पालुङ क्षेत्रमा रोकिएका करिब १५० वटा सवारीसाधनलाई सुरक्षाकर्मीको निगरानीमा ‘स्कर्टिङ’ गरी काठमाडौं पठाउने काम भइरहेको छ । मंगलबार काठमाडौंका लागि छुटेका ती सवारीसाधन सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेका कारण त्यहाँ रोकिएका थिए । पालुङमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाएपछि मात्रै काठमाडौंबाट अर्को समूहका सवारीलाई उक्त मार्गमा प्रवेश अनुमति दिइने प्रहरीले जनाएको छ । १४ सिटसम्मका हलुका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटो भएर सञ्चालन भइरहेका छन् । यस्ता हलुका सवारीलाई असोज १६ गतेदेखि २४ घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ । बाढीअघि सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा–काठमाडौं यात्रा अहिले सवारी चापका कारण झन्डै पाँच घण्टासम्म लम्बिएको छ । यात्रुवाहक सवारीसँगै ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई पनि प्रहरीले विशेष प्राथमिकतामा राखेर गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाइरहेको छ । विपद्का कारण सडकको अवस्था जटिल बने पनि प्रहरी नेतृत्व निर्देशनमा मात्र सीमित नभई समस्या भएका स्थानमै पुगेर सवारी व्यवस्थापनमा खटिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्