हरेक वर्ष तीजमा चर्चित गायिका विष्णु माझीको गीतको प्रतीक्षा हुने गर्छ। वर्षभरि गुमनाम रहने माझीले आफ्नो सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज वा दसैँको अवसरमा मात्रै गीत सार्वजनिक गर्दै आएकी छन्। उनको गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘बल्ल तीज आएजस्तो भयो’ भन्दै दर्शक–श्रोताले प्रतिक्रिया दिने गरेका छन्। यसपटक भने तीज आउनुअघि नै माझीको स्वरमा ‘झोर्ले हजुर’ सार्वजनिक भएको थियो। त्यसपछि उनको स्वरमा अर्को तीज गीत आउँछ कि आउँदैन भन्ने अन्योल थियो। तर, यसैबीच माझीको स्वरमा तीज गीत ‘घरबार’ सार्वजनिक भएको छ। माझीकै आधिकारिक युट्युब अकाउन्टमार्फत गीतको अडियो सार्वजनिक गरिएको हो। गीतमा महिलाको पीडा, वेदना र घरायसी जीवनका भोगाइलाई समेटिएको छ। अडियो सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा चर्चा पाउन थालेको छ। गीतको म्युजिक भिडियो पनि चाँडै सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ। अब ‘घरबार’को भिडियो कस्तो बन्ने हो भन्ने विषयमा दर्शक–श्रोतामाझ कौतूहलता बढेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्