काठमाडौं । भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा गएको हिमपहिरोपछि आएको विनाशकारी बाढीले रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । आयोजनाका अनुसार बाढीमा परी हालसम्म ५५७ जना सम्पर्कविहीन छन् भने ८७६ जनाको उद्धार गरिएको छ ।
सम्पर्कविहीनमध्ये करिब ११५ जना आयोजनाको हेडवर्क्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशंका गरिएको छ । अत्यन्त विकट भूगोल, व्यापक भौतिक क्षति, सुरुङभित्रको जोखिम, थप पहिरोको सम्भावना र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य कठिन बनेको आयोजनाले जनाएको छ ।
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको नेपालको ठूलो जलविद्युत आयोजना हो । २०८४ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको बाँधस्थल, मुख्य सुरुङ र भूमिगत विद्युत्गृहलगायत संरचनामा तीव्र गतिमा काम भइरहेको थियो ।
तर भदौ १० गते आएको बाढीले निर्माण सम्पन्न हुन लागेको बाँधसहित हेडवर्क्स, कार्यालय तथा आवास क्षेत्रका संरचना पूर्ण रूपमा बगाएको आयोजनाले जनाएको छ ।
बाढीअघि पूर्वसूचना दिइए पनि अत्यन्त छोटो समयमा ठूलो परिमाणमा पानी र लेदो आयोजनास्थलमा प्रवेश गरेकाले अधिकांश कर्मचारी तथा श्रमिकलाई सुरक्षित स्थानमा जान कठिन भएको थियो ।
आयोजनास्थलमा प्रवर्द्धक कम्पनी नेपाल वाटर इनर्जी डेभलपमेन्ट कम्पनी, परामर्शदाता, मुख्य निर्माण ठेकेदार तथा विभिन्न सहायक ठेकेदार कम्पनीका गरी करिब १ हजार ४ सय ३३ जना कार्यरत थिए ।
तीमध्ये प्रवर्द्धक कम्पनीका १५, परामर्शदाता जेड कन्सल्टका ७, मुख्य निर्माण ठेकेदार डुसानका ५६, पावर चाइनाका ३८५ तथा एन्ड्रिज हाइड्रोका ९४ जना गरी ५५७ जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ ।
आयोजनाले बाढीपछि तत्कालै हेलिकोप्टरबाट हवाई निरीक्षणदेखि स्थलमार्गबाट पैदल खोजीसम्मका अभियान सञ्चालन गरेको जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सुरक्षा निकाय, चिनियाँ विज्ञ, तालिमप्राप्त कुकुरसहितका उद्धार टोली, शेर्पा टोली तथा विभिन्न प्राविधिक टोलीलाई खोजीमा परिचालन गरिएको छ ।
कोरियाबाट विज्ञ तथा आवश्यक उपकरणसमेत नेपाल ल्याएर आयोजनास्थलमा परिचालन गरिएको छ । ड्रोन, एयर–स्क्यानिङ, म्यान्ट्रेलिङलगायत प्रविधिबाट समेत सम्भावित क्षेत्रमा खोजी भइरहेको आयोजनाले जनाएको छ ।
हेडवर्क्स क्षेत्रमा ठूलो मात्रामा लेदो जमेकाले त्यहाँ रहेका उपकरणसमेत सञ्चालन गर्न सकिने अवस्थामा छैनन् । सुरुङ तथा अन्य सम्भावित स्थानमा जम्मा भएको पानी हटाउन पम्प र जेनेरेटरसमेत पठाइएको छ ।
आयोजनाले सम्पर्कविहीन व्यक्तिका परिवारसँग नियमित सम्पर्कमा रहेको जनाएको छ । परिवारबाट प्राप्त सूचना र उद्धार गरिएका व्यक्तिहरूबाट प्राप्त विवरणका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी उद्धार टोलीलाई परिचालन गरिएको छ ।
सरकारले सञ्चालन गरेको वार रुममा समेत कम्पनीका प्रतिनिधिले सहभागिता जनाउँदै उद्धारको अवस्थाबारे जानकारी गराउँदै आएका छन् ।
आयोजनाले गृह, अर्थ, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय प्रशासन तथा स्थानीय तहसँग समन्वय गरी खोजी तथा उद्धारलाई तीव्रता दिइरहेको जनाएको छ ।
आयोजनाको भनाइमा खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले सम्पर्कविहीन व्यक्तिका परिवारलाई धैर्यधारण गर्न आग्रह गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्