काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा पछिल्ला दिनमा देखिएको तीव्र उतारचढाव आज पनि जारी छ। लगातार पाँच दिनसम्म घटेको सुनको भाउ आज भने एकैदिन तोलामा ७ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ।
यसअघि हिजो सुनको मूल्य एकैदिन ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ मा झरेको थियो।
पछिल्ला पाँच दिनको मूल्य हेर्दा सुनमा ठूलो गिरावट देखिएको थियो। मंगलबार तोलामा ५ सय रुपैयाँ, सोमबार २ हजार ४ सय रुपैयाँ र आइतबार ९ हजार ५ सय रुपैयाँ घटेको थियो। त्यसअघि शुक्रबार पनि २ हजार ४ सय तथा बिहीबार १ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको थियो।
यसरी लगातारको गिरावटपछि आजको वृद्धिसँगै बजारमा सुनको मूल्य फेरि ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमामाथि पुगेको छ।
चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी तोलामा १ सय ४५ रुपैयाँले बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ।
चाँदीको मूल्यमा पनि पछिल्ला दिनमा उल्लेख्य उतारचढाव देखिएको छ। गत माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो एकदिने गिरावटका रूपमा उल्लेख गरिएको छ।
सुनको ऐतिहासिक उच्च मूल्य कति?
नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। त्यसदिन सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
यो नेपाली बजारमा सुनको मूल्यले कायम गरेको हालसम्मकै उच्च विन्दु हो।
त्यसैगरी, चाँदीको मूल्य पनि गत माघ १५ गते हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यसदिन चाँदी तोलामा ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
यसरी हेर्दा अहिले सुन र चाँदी दुवै आफ्नो ऐतिहासिक उच्च मूल्यभन्दा तल कारोबार भइरहे पनि बजारमा मूल्यको उतारचढाव भने तीव्र देखिएको छ। पछिल्लो एक सातामै सुनको मूल्यमा हजारौँ रुपैयाँको वृद्धि–गिरावट आउँदा लगानीकर्ता, व्यवसायी तथा उपभोक्ताको चासोसमेत बढेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्