काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबीच रसुवाको भोटेकोसी बाढीबाट भएको क्षति तथा उद्धार कार्यबारे छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्री शाह र घिसिङबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
भेटमा गत साता रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रमा भएको क्षति, उद्धारको अवस्था र सुरुङमा फसेका व्यक्तिको खोजी लगायतका विषयमा छलफल भइरहेको बताइएको छ।
भोटेकोसी बाढीका कारण निर्माण सम्पन्न तथा निर्माणाधीन गरी करिब एक दर्जन जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। आयोजनाका संरचना, पहुँचमार्ग तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि विद्युत् क्षेत्रसमेत प्रभावित भएको छ।
बाढी आएको ९ दिन बितिसक्दा पनि सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा उल्लेखनीय प्रगति हुन सकेको छैन। सुरुङभित्रको अवस्था, लेदो तथा भग्नावशेष र घटनास्थलसम्मको कठिन पहुँचका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
यसअघि पूर्वऊर्जामन्त्री घिसिङले आफैँ बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी जलविद्युत् आयोजनामा फसेका तथा प्रभावित व्यक्तिको उद्धार अवस्थाबारे जानकारी लिएका थिए।
सोही क्रममा प्राप्त जानकारी र स्थलगत अवस्थाका आधारमा प्रधानमन्त्री शाहले घिसिङसँग छलफल गरेको स्रोतको भनाइ छ।
क्षतिग्रस्त आयोजनाको पुनःस्थापना पनि चुनौती
भोटेकोसी बाढीले तत्काल उद्धारसँगै जलविद्युत् आयोजनाको पुनःस्थापना र सञ्चालनमा समेत गम्भीर चुनौती सिर्जना गरेको छ।
बाढीले आयोजनाका पहुँच सडक, सुरुङ, विद्युत् संरचना तथा अन्य पूर्वाधारमा क्षति पुर्याएपछि क्षतिको विस्तृत मूल्याङ्कन र पुनर्निर्माणको आवश्यकता देखिएको छ।
प्रधानमन्त्री शाह र घिसिङबीचको छलफलमा उद्धारलाई प्रभावकारी बनाउने उपायसँगै क्षतिग्रस्त जलविद्युत् आयोजनाको अवस्था र पुनःस्थापनाका सम्भावित विकल्पबारे समेत कुराकानी भइरहेको बताइएको छ।
भोटेकोसी क्षेत्रमा अझै जोखिमपूर्ण अवस्था रहेकाले उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्नुअघि संरचनाको सुरक्षा, पानी तथा लेदोको अवस्था र आवश्यक उपकरणको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने अवस्था छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्