सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठवाबाट चार दिनदेखि बेपत्ता रहेकी १० वर्षीया बालिका मृत फेला परेकी छन्।
स्थानीय रामविनय यादवकी छोरी चाँदकुमारी यादवलाई धनकौल गाउँपालिका–४ स्थित मनुष्मारा खोलामा मृत अवस्थामा फेला पारिएको हो।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीका अनुसार बालिकाको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिका गत आइतबारदेखि परिवारको सम्पर्कमा आएकी थिइनन्। त्यसपछि परिवारका सदस्य, स्थानीय बासिन्दा र प्रहरीले उनको खोजी सुरु गरेका थिए।
खोजी अभियानकै क्रममा बुधबार साँझ मनुष्मारा खोलामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविक कारण तथा बालिकाको मृत्यु कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्