काठमाडौं, भदौ १७ गते । भोटेकोशीको भीषण बाढीमा चार पटकसम्म उछिट्टिँदा पनि मेन्दो पेमा लामाले ज्यान बचाउने आशा छाड्नुभएन। बाढीले पटक–पटक पछार्दै बगाइरहँदा उहाँले अन्तिममा खोलाकिनारको झार समातेर आफूलाई सम्हाल्न सफल हुनुभयो।
“बाढीले दुई चोटी पछार्दा नै म मरिसकें होला भनेर सोचें। तीन चोटीमा यति चोट लागिसकेको रहेछ, होस भएन। बाढीले डुबाउँदै, फ्याल्दै गर्दा चार चोटीमा मलाई एउटा डिलमा उछिट्यायो। आँखाको छेऊमा देखेको झार समातें,” उहाँले आफ्नो भयावह अनुभव सुनाउनुभयो।
रसुवाको स्याफ्रुबेसी कोमिनस्थित ‘श्री कोमिन स्यामे वाङ्फेल’ विद्यालयमा अध्यापन गराउँदै आउनुभएकी मेन्दो भदौ १० गते विद्यालय जाने तयारीमा हुनुहुन्थ्यो। त्यही बेला भोटेकोशीमा आएको विनाशकारी बाढीले उहाँलाई समेत बगाएको थियो।
बाढीबाट उम्किएपछि उहाँको शरीरभरि हिलो लागेको थियो। लगाएका कपडासमेत थिएनन्। नजिकैका आफन्तले समेत उहाँलाई अनुहारले नभई आवाजबाट मात्र चिन्न सके।
मृत्युको मुखबाट फर्किनुभएकी मेन्दोले भोटेकोशीको त्यो भयावह क्षणमा कसरी आफूलाई बचाउनुभयो भन्ने अनुभव गोरखापत्र अनलाइनका लागि सपना थामीसँगको संवादमा सुनाउनुभएको छ।
उहाँसँग गरिएको संवादमा आधारित भिडियो सामग्री मनोजरत्न शाहीले तयार पार्नुभएको हो। बाढीको भेलमा पटक–पटक उछिट्टिँदा पनि जीवनको आशा नछाडेर झार समात्दै बाहिर निस्किन सफल मेन्दोको यो अनुभव भोटेकोशी बाढीको भयावहता र त्यसबाट बाँचेकाहरूको संघर्षको मार्मिक उदाहरण बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्