ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सार अधिकृत गैह्रेले ज्यान जोगाउँदै देखेको भदौ १० को रसुवा त्रासदी


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ७ : ५५   बजे

रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालय खोलाको किनारबाट १ सय मिटरको उचाइमा छ।

त्यही कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी करविर गैह्रे बाढी आउने अघिल्लो दिन मात्रै रसुवा पुगेका थिए।

काठमाडौंबाट पुग्नासाथ केही समय अफिसमा बिताए। बुधबार बिहानै कार्यालयमा आउन भनिएको थियो। कार्यालयका हाकिमको अनुरोधअनुसार केही साथीहरू साढे ७ बजे नै कार्यालय पुगे।

तर गैह्रे भने बिहानै आफ्नो अनलाइन क्लास लिन लागे। त्यही बेला उनका साथी हरि बहादुर खड्का पनि त्यहीँ आइपुगे। करिब ३० मिनेट कुरा गरेपछि खड्का कार्यालयतिर लागे।

गैह्रे पनि आफ्नो क्लास सकाएर रसुवा भन्सार कार्यालयतिर लागेका थिए। उनको क्वार्टर र कार्यालयको दूरी करिब २ देखि ५ सय मिटरको दूरीमा छ। अफिस पुगेर अघिल्लो दिनमा बाँकी रहेको काम गर्दै थिए उनी।

गैह्रे र उनका सहकर्मी दिनेश कुमार घिमिरेलाई त्यस दिन ट्रान्जिटमा ओमोडा गाडीको प्लगइन र प्लगआउट हेर्ने जिम्मेवारी थियो।

घिमिरेलाई हेर्दै गर भनेर गैह्रे अर्को काममा लागे।

बुधबार बिहानको करिब ८ः४५ बजेतिर घिमिरे ट्रान्जिटका लागि भनेर तल लागे।

गैह्रे सूचना अधिकारी पनि भएकाले चिनियाँ नाकाबाट पहिलो सूचना उनले नै पाउँथे। तर त्यो दिन सूचनाभन्दा पहिला बाढी आइपुग्यो।

आम मानिसको बुझाइ पानीको सतह बढ्दै गएपछि बाढी आउँछ भन्ने हुन्छ तर त्यो दिन पहिल्यै बाढी आएको गैह्रे बताउँछन्।

उनले त्यो दिन सँगै काम गरेका सहकर्मीद्वय खड्का र घिमिरे दुवै अहिले सम्पर्कविहीन छन्।

‘भूकम्प आएजस्तो लाग्यो, बाहिर सुनामी देखेँ’

भदौ १० गते बुधबार बिहान ८ः४७ बजेतिर टेबलमा बसिराखेको समयमा एक्कासि कम्पन आएको गैह्रे बताउँछन्।

‘म पनि सुरुमा भूकम्प आयो भनेर उठेँ। त्यो बेलामा म पूर्वतिर फर्केको थिएँ’, उनले नेपालखबरसँग भने, ‘मेरो दाहिने साइड चाइनाबाट आउने ठाउँ पर्थ्यो। भूकम्प आयो भनेर म उठेर बाहिर हेर्दा सुनामीजस्तो देखेँ।’

उनका अनुसार त्यहाँ चीनले लोनमा भवन बनाइराखेको छ। ४/५ वर्षदेखि भवन बनाए पनि पहिरो आयो भने ठीक छैन भनेर अहिले बस्न छाडेको छ। अर्थात् त्यो प्रयोगमा नै आएन। नदी आएर भित्तामा ठोक्किएर घुम्दा बाढीजस्तो नभई त्यस दिन उनले सुनामीजस्तो देखेका थिए। भित्तामा ठोकिएपछि भूकम्प आएजस्तो उनलाई लाग्यो।

‘त्यो देखेपछि बाढी नै हो भन्ने लाग्यो अनि भागौँ भागौँ भनेँ। मेरो अगाडि रमेश कुँवर भन्ने साथी हुनुहुन्थ्यो। गणेश चौधरी भन्ने सुब्बा साब पनि हुनुहुन्थ्यो’, उनले सम्झिए, ‘त्यो भनेर म निस्केर चाइना, स्याफ्रुबेसी र काठमाडौं जोड्ने हाइवेभन्दा माथि गएँ। त्यसको १०–१५ सेकेन्डमा माथि लागेँ। फोनचाहिँ त्यहीँ छाडेछु। अफिसको फोन लिएर हिँडेको रहेछु।’

त्यहाँबाट माथि भाग्दै गएर ८ः५१ मिनेटमा परिवारलाई फोन गरेको उनी बताउँछन्।

आत्तिएर उनले परिवारलाई बाढीले नभेट्ने ठाउँमा पुगे पनि पहिरो आउने डरबारे बताएका थिए।

‘बाढीले बगाउँदैन तर यो पहिरोले पनि जोखिम ठाउँ हो, पहिरो आयो भने बाँचिन्न, बच्चाहरूको ख्याल गर्नु भनेको रहेछु’, आफैँले भनेका कुरा परिवारले सुनाएको उनको भनाइ छ।

त्यसपछि उनको फोन लागेन। बाटो र बिजुली दुवै गएपछि एकैछिनमा नेटवर्कले पनि काम गरेन। उनीहरू अझै माथि लागे।

‘टिमुरे बजारबाट १ किमि माथि पुगेपछि एकछिन त्यहाँ बस्यौँ। त्यहाँ पहिरोको जोखिम थियो, पहिला पनि मर्निङ वाकको लागि त्यहाँ जाने भएर हामीलाई डर लाग्यो’, उनी सुनाउँछन्, ‘अनि हामी अझै माथि हिँड्यौँ। कति स्थानीयले यहाँ हेलिकप्टर बस्न ठाउँ छैन, बर्खाको बेला हो, माथि खैरी गाउँ जानू, त्यहाँ पुगेपछि हेलिकप्टरले उद्धार गर्छ भने।’

जहाँबाट चिनियाँ बजार पनि देखिन्छ।

उनले सुनाए, ‘रसुवागढीमा चीनको ५ तलाको संरचना थियो, त्यो पनि नरहेपछि हाम्रो त रहने कुरा भएन।’

‘सवा १० बजे भन्सार प्रमुखसँग कुरा भयो’

पछि खैरीमा सवा १० बजेतिर पुगेपछि उनीहरूको कार्यालय प्रमुखसँग कुरा भयो। प्रमुखले माथि नजान र तल झर्न भने।

त्यसपछि उनीहरू टिमुरेभन्दा १ किमि माथि आइपुगे। त्यहाँ आएपछि दिउँसोको २ः४७ तिर उद्धार भएको उनको भनाइ छ।

‘आर्मीको हेलिकप्टरले हामीलाई त्रिशूलीसम्म ल्यायो। त्यहाँ आएपछि हाम्रो प्रारम्भिक स्वास्थ्य जाँच भयो, तपाईँहरू गाडी रिजर्भ गरेर जान सक्नुहुन्छ भने जानू भनेर आर्मीले भने’, १० गते भएको घटनाक्रम सुनाउँदै उनले थपे, ‘हामीले स्वास्थ्य अवस्थाको बारेमा सोध्यौँ। उहाँले ठिक छ भनेपछि हामीले गाडी रिजर्भ गरेर त्यही राति साढे ९ बजे काठमाडौँ आइपुग्यौँ।’

उनी काठमाडौं आउँदासम्म रसुवा भन्सारबाट १५ जना साथी सम्पर्कविहीन भएको सूचना आइरहेको थियो। उनीसहित १६ जना भने यो विपत्तिबाट उम्किन सफल भए। भन्सारमा ४१ जना कर्मचारी रहेको उनको भनाइ छ।

काठमाडौको भन्सार विभागमा उनीहरूलाई अर्थमन्त्री, अर्थसचिवलगायतले भेटेका थिए। अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘तपाईंको नयाँ जीवन सुरु भयो, यो जीवन समाजसेवा र राष्ट्र सेवामा लगाउनू भन्दै बधाई दिएका थिए। त्यसपछि उनीहरू घर फर्किए।

‘१० सेकेन्डले हराउनेको सूचीमा परिनँ’

ललितपुर घर भएका गैह्रेलाई त्यस दिन भएका यी सबै कुरा पत्याउन गाह्रो भइरहेको छ।

उनी भन्छन्, ‘१० सेकेण्डले त्यो हराउनेको सूचीमा म भइनँ। त्यो सोच्दा अहिले भने गाह्रो भइरहेको छ। अहिले राम्रोसँग निदाउन सक्दिन, आधा घण्टा पहिला कुरा गरेको साथी, १ मिनेट अघि कुरा गरेको साथीहरू छैनन्। नदी उर्लेको त्यो कोलाहल!’

त्रासदीको रात उनी बल्लतल्ल घर आइपुगेका थिए। आफू घर आए पतिन हराएका साथीहरू भोलि भेटिने आशा थियो। तर भोलिपल्ट उनका आँखाले जे देखे, त्यो कल्पनाबाहिरको थियो।

‘धेरै साथी झुक्किए’

त्यत्रो बाढी आउला जस्तो लागेकै थिएन। सोही कारण बुधबारको त्यो बिहान धेरै साथी भूकम्प ठानेर खुला ठाउँमा भागेको हुनसक्ने उनको भनाइ छ।

‘बाढी भन्ने कमैलाई आइडिया भयो किनभने पहिलाको बाढी नदीबाट २० मिटर माथि मात्र आएको थियो। अहिले नदीको सतहबाट धेरै उचाइसम्म आइपुगेको भन्छन्’, उनले सम्झिए, ‘त्यत्रो बाढी आउँछ भनेर कोहीलाई कल्पना समेत भएन। पूर्वसूचना आएपछि पहिला गाडी निकालेर बाहिर समेत राख्ने गर्थे तर यो पटक त्यस्तो सम्भव भएन।’

टिमुरे बजारका २ सयजति मात्र बाँचेको गैह्रेको अनुमान छ।

‘हामीसँग रेकर्ड र डाटा सिस्टम राम्रो छैन। त्यहाँ २–३ सय चाइनिज र २–३ सय नेपाली मजदुर थिए। स्याफ्रुबेसीदेखि चाइनाको बाटो बन्दै थियो, अहिले हाइड्रो पावरको कामदारको मात्र कुरा आइरहेको छ, ती कामदारको कुरा आएको छैन’, उनी भन्छन्।

फेरि फिल्डमै

गैह्रेसहित बाँचेर आएका अन्य साथीहरू अहिले फिल्डमा काम गर्न थालिसकेका छन्। मनभरी पीडा छ तर पनि हराएका साथीहरू कतै भेटिन्छन् कि भन्ने झिनो आशा पनि छ।

अहिले उनलाई भन्सार विभागले हराइरहेका १५ साथी भेटिने आशामा ४ टोली बनाएर खटाएको छ। तर कतै पनि भेटिने सम्भावना कम रहेको उनी बताउँछन्।

‘अब शव भेटिने सम्भावना पनि शून्य हुँदै गएको छ’, गैह्रेले भने।

‘चीनलाई दोषारोपण गर्नु गलत’

एक्कासि आएको बाढीले तहसनहस पारेपछि चीनले बेलैमा सूचना नदिएका कुरा पनि बाहिर आए। तर गैह्रे त्यसलाई अफवाहबाहेक केही नभएको बताउँछन्।

हुन त स्वयं चीनले त्यसको खण्डन पनि गरिसकेको छ।

गैह्रे भन्छन्, ‘चीनले पूर्वसूचना दिएन भनेर जसरी अपवाह फैलाइएको छ, त्यो गलत हो। विपद् एक्कासि आएको हो, सानो सूचना पनि दिनेले ठूलो सूचना दिएन भन्ने होइन। चीनको पनि संरचना केही छैन। बाहिर हल्ला फैलाएजस्तो केही होइन।’

स्रोतका थप तस्बिर तथा कागजात

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीद्वारा धादिङ र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

सम्बन्धित

चार पटक बाढीले उछिट्याउँदा पनि झार समातेर बाँचिन् मेन्दो पेमा लामा

त्रिशूली–१ का ५५७ जना अझै सम्पर्कविहीन, ११५ जना सुरुङभित्र फसेको आशंका

निसीखोलाको चिनारे बस्ती पहिरोको उच्च जोखिममा, १० घर प्रभावित

केरुङनजिक हिमनदी फुटेपछिको जोखिम कायमै, थप बाढी–पहिरोको चेतावनी

रसुवाको बाढीपछि कुशीनगरमा १३ अज्ञात शव फेला, नेपालसँग समन्वयमा भारतीय प्रशासन

१२ घण्टा जंगलमा भौँतारिए, पसिना निचोरेर पिए, बिस्कुट खाए– यसरी बाँचे शिवु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu