काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन्। होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेसनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरिजलगायतका संस्थाका तर्फबाट सहयोग रकम प्रदान गरिएको हो। बुधबार होल्डिङ्सका प्रबन्ध निर्देशक एवं नर्भिकका निर्देशक मेघा चौधरी, नर्भिकका अध्यक्ष राजेन्द्रबहादुर सिंह, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा नेपाल डिस्टिलरिजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण गर्दै मेघा चौधरीले विपद्का बेला सरकारलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरिएको बताइन्। उनले सहयोग रकम ठूलो नभए पनि बाढी प्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास व्यक्त गरिन्। अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आबद्ध सबै संस्था सरकारलाई साथ दिन प्रतिबद्ध रहेको पनि उनले बताइन्। चौधरीले उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका संघसंस्था तथा व्यक्तिप्रति सम्मान व्यक्त गर्दै बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिन्। बीएलसी ग्लोबल होल्डिङ्सका संस्थापक वसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार तथा पुनर्स्थापनाका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार होल्डिङ्ससँग आबद्ध संस्थाहरूका तर्फबाट ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरिएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्