काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउँदै क्षतिग्रस्त सडक, पुल तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माण र पुनर्स्थापनालाई समेत प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएको हो।
समिति सभापति आशिष गजुरेलका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेर बसेको अवस्था रहेकाले खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
टनेलमा विदेशी विज्ञको सहयोग लिन निर्देशन
समितिले विशेषगरी टनेललगायत जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण रहेकाले स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार अभियान अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।
सभापति गजुरेलले विपद्का कारण जोखिममा परेका नागरिकको उद्धारमा उपलब्ध सबै स्रोत, साधन र प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने बताए।
तुइन र झोलुंगे पुललाई प्राथमिकता
समितिले बाढीका कारण अवरुद्ध भएको सम्पर्क सञ्जाल तत्काल पुनर्स्थापित गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि प्रभावित बस्तीहरूबीच आवतजावत कठिन बनेको भन्दै समितिले तुइन, झोलुंगे पुल तथा आवश्यक स्थानमा अस्थायी सडक निर्माणलाई प्राथमिकता दिन भनेको हो।
समितिले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्तिलाई समेत तत्काल नियमित गर्न सरकारलाई आग्रह गरेको छ।
विद्युत् अवरुद्ध भएका क्षेत्रमा यथाशीघ्र विद्युत् जडान गर्न जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको सभापति गजुरेलले जानकारी दिए।
समितिले विपद्पछिको अवस्थामा राहत तथा उद्धारसँगै प्रभावित क्षेत्रको यातायात, सञ्चार र विद्युत् पूर्वाधारलाई तत्काल पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्