काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार २८२ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम तथा भारतमा समेत भेटिएका गरी १ हजार २८२ जनाको शव फेला परेको हो ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन् ।
१२ हजारभन्दा बढीको उद्धार
बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।
उनका अनुसार उद्धार गरिएकामध्ये ३ हजारभन्दा बढी व्यक्ति होल्डिङ सेन्टरमा बसिरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राखेर आवश्यक राहत तथा व्यवस्थापनका काम भइरहेको छ ।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित
बाढीपछिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन २१ हजार ४०२ जना सुरक्षाकर्मी निरन्तर परिचालित रहेको डीआईजी काफ्लेले जानकारी दिए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका काम गरिरहेको छ ।
३०४ घाइतेको उपचार जारी
बाढीमा परी घाइते भएका ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।
यस्तै, नेपाली सेनाले हालसम्म ३ हजार २०६ जना र सशस्त्र प्रहरीले १ हजार ८७४ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले सुरक्षाकर्मी तथा उद्धार टोलीले शव खोजी, बेपत्ताको खोजी र प्रभावितको उद्धारलाई निरन्तरता दिइरहेका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्