काठमाडौं । भोटेकोसी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्यूआर कोडमार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार केसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिने भन्दै विभिन्न व्यक्तिलाई आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप
प्रहरीका अनुसार पक्राउपछि सोधपुछका क्रममा केसीले प्रहरी कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेका थिए ।
केसीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिनको म्याद थप गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्