काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले रसुवाको भोटेकोसी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ ।
पार्टीले यसअघि गरेको निर्णयअनुसार बाढीबाट प्रभावितहरूको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जनाएको हो ।
बाढीपीडितको सहयोगका लागि पार्टीले सिंगो पार्टी पंक्तिलाई परिचालन गरिसकेको जनाएको छ । खोजी तथा उद्धारदेखि राहत र पुनर्स्थापनासम्मका कार्यमा सक्रिय रूपमा जुट्न पार्टीले आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।
पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’
बाढीपीडितको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’ स्थापना गरिएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
डेस्कमार्फत बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सूचना संकलन, आवश्यक समन्वय तथा पीडितलाई सहयोग पुर्याउने कार्यमा सहजीकरण गरिने पार्टीले जनाएको छ ।
पार्टीले भोटेकोसी बाढीबाट प्रभावित पीडित, उनीहरूका परिवार, आफन्त तथा सरोकारवालालाई आवश्यक सम्पर्क र सूचना उपलब्ध गराउन समेत अपिल गरेको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्