काठमाडौं :भोटेकोशीको भेलले रसुवाको टिमुरेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) नै बगाउँदा ड्युटीमा रहेका कमाण्डरसहित नौ सुरक्षाकर्मी सम्पर्कविहीन भए । आफ्नै कमाण्डर र सहकर्मी गुमाएको पीडा बोकेका सशस्त्र प्रहरी भने त्यसपछि पनि नागरिकको जीवन बचाउने कर्तव्यबाट पछि हटेनन् ।
भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले टिमुरेको भूगोल नै बदलिदियो । सञ्चार र विद्युत् सेवा ठप्प भए । सडक र पुल बगे । सरकारी संरचनासँगै सुरक्षाकर्मीका कार्यालय र बासस्थानसमेत क्षतिग्रस्त भए । बाहिरी संसारसँगको सम्पर्क टुटेको त्यही कठिन अवस्थामा पनि सशस्त्र प्रहरीले खोज तथा उद्धारको जिम्मेवारी निरन्तर अघि बढायो ।
बाढीमा बीओपीका कमाण्डर सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित दोस्रो कमान्डमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाश न्यौपाने र अन्य सुरक्षाकर्मी सम्पर्कविहीन भए ।
तर, बीओपी तत्कालै नेतृत्वविहीन भएन । सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापा मगरले कमान्ड सम्हाल्दै उद्धार अभियान अघि बढाए ।
“बाढीले बीओपीसहित सबै संरचना छिनभरमै बगायो । कमाण्डरविहीन बनेका हामी खोज तथा उद्धारमा जुटिहाल्यौँ,” मगरले भने ।
आफैँ विपत्तिमा परेर पनि उद्धारमा
बाढीको भोलिपल्ट, भदौ ११ गते धुन्चेबाट सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमान्डमा थप टोली टिमुरे पुगेपछि खोज तथा उद्धार थप तीव्र बन्यो ।
त्यही टोलीले गोसाइँकुण्ड–२, टिमुरेकी छ वर्षीया मनिसा मगरलाई करिब ६० घण्टापछि माटोमुनिबाट जीवितै उद्धार गर्न सफल भयो ।
तीन दिनसम्म माटोमुनि पुरिएर पनि बालिका जीवित भेटिनु विपत्तिको बीचमा उद्धारकर्मीका लागि आशाको ठूलो किरण बन्यो । भग्नावशेषभित्र जीवन हुनसक्ने सम्भावनाले उद्धार टोलीलाई थप उत्साहित बनायो ।
मैलुङमा पनि सुरक्षाकर्मी बेपत्ता
भोटेकोशी बाढीले मैलुङमा त्रिशूली जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी टोलीलाई समेत ठूलो क्षति पुर्यायो ।
अस्थायी सुरक्षा बेसका कमाण्डर सशस्त्र प्रहरी नायब निरीक्षक रमेश थापाका अनुसार बाढीको सूचना पाएलगत्तै उनले हतियारसहितको टोलीलाई सुरक्षित स्थानतर्फ पठाएका थिए । आफू र केही सहकर्मी बाहिर निस्कने क्रममा भने बाढीले घेर्यो ।
गोताखोरको तालिम लिएका थापा अनेक प्रयासपछि बाढीबाट बाहिर निस्कन सफल भए । तर, उनका चार जना सहकर्मी बेपत्ता भए ।
बेपत्तामध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परिसकेको छ भने अन्यको खोजी जारी छ ।
भग्नावशेषमा जीवन खोज्दै
भोटेकोशी बाढी र पहिरोले स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म ४१ भन्दा बढी पुल बगाएको छ । कतिपय स्थानमा सडक पूर्ण रूपमा क्षतिग्रस्त छन् ।
यही कठिन भूगोल, माटोका थुप्रा र भग्नावशेषबीच सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा टिमुरे क्षेत्रबाट हालसम्म ९८ शव सङ्कलनगरेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रमा चार हजार दुई सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।
टिमुरेदेखि पश्चिम नवलपरासीसम्म करिब ८ सय विशेष तालिमप्राप्त जनशक्ति खोज तथा उद्धारमा खटिएका छन् ।
उद्धार अभियानमा गोताखोर, सीएसएसआर, रोप रेस्क्यु, उच्च पर्वतीय उद्धार, के–९, ड्रोन तथा मेडिकल टोलीसमेत परिचालन गरिएको छ ।
कमाण्डर गुम्यो, कर्तव्य गुमेन
भोटेकोशीको बाढीले सशस्त्र प्रहरीका कमाण्डर बगायो । सहकर्मी बगायो । कार्यालय र बासस्थान बगायो । सडक र सञ्चार सम्पर्क तोड्यो ।
तर नागरिकप्रतिको कर्तव्य बगाउन सकेन ।
आफ्नै सहकर्मीको खोजी र पीडा बोकेर पनि सशस्त्र प्रहरीका जवानहरू अहिले भोटेकोशी किनार, माटोका थुप्रा र भग्नावशेषमा अझै जीवन खोजिरहेका छन् ।
विपत्तिले उनीहरूलाई पनि पीडित बनायो, तर त्यही पीडाबीच उनीहरू अरूको जीवन बचाउने उद्धारकर्मी बनेर उभिएका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्