सर्लाही । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका आफन्तको खोजीमा प्रभावित क्षेत्रमा पुगेका सर्लाहीवासी निराश हुँदै घर फर्कन थालेका छन्।
बेपत्ता आफन्तको अवस्था पत्ता लाग्ने आशामा परिवारका सदस्य तथा आफन्तहरू नुवाकोट, रसुवा, चितवनलगायतका क्षेत्रमा पुगेर अस्पताल, सुरक्षा निकायका ब्यारेक तथा सम्भावित स्थानमा खोजी र सोधपुछ गरे पनि कुनै जानकारी नपाएपछि उनीहरू निराश भएर घर फर्किएका हुन्।
सम्पर्कविहीन भएको एक सातासम्म पनि कुनै खबर नआएपछि बेपत्ता व्यक्तिका परिवारमा रुवाबासी चलेको छ। बुवा, आमा, श्रीमती, छोराछोरी तथा आफन्तहरू छिनछिनमै भक्कानिने गरेका छन्। आफन्त र छरछिमेकीले उनीहरूलाई सम्झाइबुझाइ गर्दै सम्हाल्ने प्रयास गरिरहेका छन्।
प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड जाने क्रममा अघिल्लो बुधबार बिहानदेखि सम्पर्कविहीन भएका लालबन्दी नगरपालिका–५, मेजरगन्जका व्यवसायी चिरञ्जीवी खतिवडाको खोजीमा उनका छोरा निश्चित खतिवडा नुवाकोट, चितवनलगायतका क्षेत्रमा पुगेका थिए। तर, बुवाको अवस्था पत्ता लाग्न सकेन।
स्थानीय प्रशासनले समेत घर फर्कन आग्रह गरेपछि आफू घर फर्किएको निश्चितले बताउनुभयो।
उहाँका अनुसार बुवासहित गोसाइँकुण्डका लागि प्रस्थान गरेका पाँच जना र उनीहरू सवार गाडीको अवस्था अझै अज्ञात छ। “पाँच दिनसम्म नेपाली सेनाको ब्यारेक, अस्पताललगायतका ठाउँमा पुग्यौँ तर कतैबाट पनि केही पत्ता लाग्न सकेन,” उहाँले भन्नुभयो।
एउटै गाउँका पाँच जना बेपत्ता
भोटेकोशी बाढीमा परी सर्लाहीबाट सबैभन्दा बढी पाँच जना सम्पर्कविहीन भएपछि लालबन्दी क्षेत्र शोकमा डुबेको छ।
भदौ ९ गते साँझ निजी गाडीमा गोसाइँकुण्डका लागि प्रस्थान गरेका लालबन्दी–५, मेजरगन्जका व्यवसायी चिरञ्जीवी खतिवडा, शिक्षकद्वय कृष्णप्रसाद धमला र द्वारिका दङ्गाल, तथा लालबन्दी–९, बस्तीपुर घर भई काठमाडौं बस्ने माधव काफ्ले र उहाँका छोरा अनुज काफ्ले सम्पर्कविहीन हुनुहुन्छ।
लालबन्दी–५ का वडाध्यक्ष मिनप्रसाद ढुङ्गेलले एउटै ठाउँका पाँच जना गाडीसहित बेपत्ता हुँदा गाउँ नै शोकमा डुबेको बताउनुभयो।
“परिवारलाई सम्झाउनेबाहेक अरू केही गर्न र भन्न सकिएको छैन,” उहाँले भन्नुभयो।
बेपत्ता व्यक्तिका घरमा आफन्त, छरछिमेकी तथा गाउँलेको बाक्लो आउजाउ देखिन्छ। परिवारका सदस्यहरू अझै पनि आफ्ना मान्छे सकुशल फर्किने आशामा बाटो कुरिरहेका छन्।
लालबन्दी–५, मेजरगन्जकी अम्बिका घिमिरेले पीडित परिवारका घरमा पुग्दा आफूलाई समेत सम्हाल्न मुस्किल हुने गरेको बताउनुभयो।
सर्लाहीका १७ जनाको अवस्था अझै अज्ञात
भोटेकोशी बाढीपछि सर्लाहीका १७ जनाभन्दा बढी व्यक्ति रसुवा र नुवाकोट क्षेत्रबाट सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा गोसाइँकुण्ड यात्रामा गएकाहरूका साथै सुरक्षाकर्मी, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा होटल र गेस्टहाउसमा काम गर्ने व्यक्तिहरू रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयमा हालसम्म २३ जना बेपत्ता भएको भन्दै निवेदन परेकोमा ६ जना सम्पर्कमा आएका छन्। बाँकी १७ जनाको अवस्था अझै अज्ञात रहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो।
सम्पर्कविहीन आफन्तको खोजीमा प्रभावित क्षेत्रमा पुगेकाहरू समेत निराश भएर फर्किएपछि परिवारको पीडा झनै गहिरिएको छ। यद्यपि, बेपत्ता व्यक्तिका परिवार भने अझै पनि आफ्ना प्रियजन सकुशल घर फर्कने आशा छाडेका छैनन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्