काठमाडौं । चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाललाई हिमतालको जोखिम, जल अवरोध तथा आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना उपलब्ध गराउने जानकारी दिएको हो ।
दूतावासका अनुसार उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले चीनले नेपाललाई आवश्यक जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउनेछ ।
“चीनले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन हिमतालको जोखिम र अवरोधलाई समेट्दै आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचनाहरू निरन्तर उपलब्ध गराउनेछ,” दूतावासले भनेको छ ।
भोटेकोसी बाढीपछि चीनले नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्वचेतावनी तथा सम्भावित प्रभावसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको पनि दूतावासले जनाएको छ ।
चाइना मेटियोरोलोजिकल एडमिनिस्ट्रेसनले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी सार्वजनिक गरेको दूतावासले उल्लेख गरेको छ ।
बाढीपछि नेपालको जल तथा मौसम विज्ञान विभागसँग चीनले भिडिओ परामर्श बैठक समेत गरेको जनाएको छ । उक्त परामर्शमा मौसम तथा जलविज्ञानसम्बन्धी अवस्थाबारे छलफल भएको थियो ।
भोटेकोसी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने गरी चीनले मौसम पूर्वानुमानसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ ।
चीनबाट प्राप्त हुने हिमताल जोखिम, जलविज्ञान तथा मौसमसम्बन्धी पूर्वसूचनाले नेपालमा सम्भावित हिमताल विस्फोटजन्य बाढी तथा अन्य जलजन्य विपद्को जोखिम आकलन र पूर्वतयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्