काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको १०औँ दिनमा रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले शुक्रबार बिहान ५ बजेर ५५ मिनेटमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई सुरुङबाट सकुशल बाहिर निकालेको हो ।
उद्धार गरिएका साहको अवस्था सामान्य रहेको छ । महर्जनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याई वीरेन्द्र सैनिक अस्पताल, छाउनीको आईसीयूमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था क्रमशः सामान्य हुँदै गएको परिवारलाई जानकारी गराएका छन् ।
सप्तरीका साह त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।
उद्धार गरिएका दुवैलाई हेलिकोप्टरमार्फत रसुवाबाट काठमाडौं ल्याइएको थियो ।
सातौँ तलामा भेटिए दुवै
उद्धारमा खटिएका सशस्त्र प्रहरीका जवान अमर तामाङका अनुसार साह र महर्जनलाई सुरुङभित्र शरीरको केही भाग डुबेको अवस्थामा फेला पारिएको थियो । उनीहरू आयोजनाको अन्तिम अर्थात् सातौँ तलामा भेटिएका हुन् ।
“म टनेलको अन्तिम विन्दुसम्म पुगेर बाहिर फर्किएको हुँ,” तामाङले भने, “उद्धार गरिएका दुवैजनासँग हाम्रो बिहान नै सम्पर्क भएको थियो । अन्य कुनै पनि व्यक्तिसँग भने सम्पर्क हुन सकेको छैन ।”
उनका अनुसार महर्जन सुरुङभित्र पसेको बाढीको लेदोले थिचिएको अवस्थामा फेला परेका थिए । साह भने सुरुङको भित्रपट्टिको स्ल्याबमा बसेको अवस्थामा सकुशल भेटिएका थिए ।
पाँच तला गेग्रान र हिलोले पुरिए
त्रिशूली–३ ‘ए’को सुरुङभित्र खटिएको सशस्त्र प्रहरी टोलीको कमान्ड गरिरहेका डीएसपी अमृत थापाले उद्धार टोली सुरुङबाट बाहिर निस्किएको जानकारी दिए ।
उनका अनुसार सुरुङका सात तल्लामध्ये पाँच तला गेग्रानसहितको हिलोले पूर्ण रूपमा डुबेको छ ।
सातौँ तलामाथि एक जनाको शवसमेत फेला परेको छ । तर शवको सनाखत भने हुन सकेको छैन ।
उद्धार टोलीले सुरुङभित्र रहेका अन्य बेपत्ता कर्मचारीको अवस्थाबारे भने कुनै जानकारी प्राप्त गर्न सकेको छैन ।
४२ कर्मचारी अझै सम्पर्कविहीन
त्रिशूली–३ ‘ए’ आयोजनामा कार्यरत साह र महर्जनबाहेक ४२ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।
भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीबाट ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना गम्भीर रूपमा क्षतिग्रस्त भएको छ ।
१० दिनसम्मको निरन्तर प्रयासपछि शुक्रबार उद्धार टोली सुरुङभित्र प्रवेश गर्न सफल भएको थियो । सुरुङभित्र ठूलो मात्रामा हिलो, गेग्रान र पानी जमेकाले उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको थियो ।
यसैबीच, भोटेकोसी बाढीमा परी शुक्रबार मध्याह्नसम्म १ हजार २८७ जनाको मृत्यु भएको छ । रसुवा, नुवाकोट, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लामा शव फेला परेका छन् । अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेको बताइएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्