काठमाडौं । रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, परेवाभिरमा सडक भासिएपछि शनिबार १२ घण्टा यातायात पूर्ण रूपमा बन्द हुने भएको छ।
हाल उक्त स्थानमा राजमार्ग एकतर्फी रूपमा सञ्चालन हुँदै आएको छ। क्षतिग्रस्त सडकको आवश्यक मर्मत गर्न भदौ २० गते शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म यातायात बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
प्रशासनले सूचना जारी गर्दै उक्त अवधिमा एम्बुलेन्स र शववाहनबाहेकका सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार क्षतिग्रस्त सडकमा आवश्यक मर्मत कार्य गर्नुपर्ने भएकाले यातायात बन्द गर्ने निर्णय गरिएको हो।
प्रशासनले मर्मत कार्यका क्रममा हुने असुविधाप्रति सम्बन्धित यात्रु तथा सरोकारवालालाई जानकारी गराउँदै तोकिएको समयअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्