पोखरा । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका ४७ वर्षीय गोविन्दबहादुर अधिकारी यसपटक तीजमा घर आउने योजनामा थिए। दिदीबहिनीहरूसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने उनको तयारी थियो।
भदौ ९ गते साँझ उनले परिवार र दिदीबहिनीलाई भिडियो कल गरे। आफूले किनेका कपडा देखाउँदै उनले सोधे, ‘यो कलर कस्तो छ?’ परिवारसँग खुशी साट्दै उनले तीजको तयारी सुनाए।
तर, त्यसको भोलिपल्ट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले उनको त्यो योजना सधैँका लागि अधुरो बनाइदियो।
टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन छन्। बाढीमा परेका उनी त्यसयता परिवारको सम्पर्कमा आएका छैनन्। सोही घटनामा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका थिए।
पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब छ महिनाअघि टिमुरे सरुवा भएका अधिकारी त्यसबीच दुईपटक घर आएका थिए। बाढी आएको दिन बिहानसम्म परिवारसँग उनको सम्पर्क थियो। त्यसपछि भने फोन सम्पर्क हुन सकेन।
परिवारले उनको मोबाइलमा पटक–पटक फोन गर्यो। विभिन्न ठाउँमा खोजी गर्यो। अस्पताल र शव राखिएका स्थानसम्म पुगेर पनि खोज्यो। सुरुमा विकट भूगोलका कारण सम्पर्क हुन नसकेको हुनसक्ने भन्दै परिवारले उनी सकुशल फर्किने आशा राखेको थियो।
तर, बिहीबार घटनास्थल पुगेर फर्किएपछि परिवारको त्यो आशा पनि समाप्त भयो। टिमुरेको अवस्था प्रत्यक्ष देखेपछि अधिकारीका परिवारले शुक्रबार हिन्दु संस्कारअनुसार कुशको शव बनाएर पोखराको रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गर्दै काजकिरिया सुरु गरेका छन्।
अधिकारीका छोरा विनयका अनुसार बुबासँग बाढी आउनुअघि बिहानसम्म परिवारको सम्पर्क थियो।
‘बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ। तर केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था देख्दा अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन,’ उनले भने।
परिवारले कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आशामा विभिन्न अस्पताल र स्थानमा खोजी गरेको थियो। धादिङमा भेटिएको एउटा शवको तस्बिर अधिकारीसँग मिल्दोजुल्दो देखिएपछि परिवार त्यहाँसम्म पुगेको थियो। तर, हातमा रहेको ट्याटुका आधारमा उक्त शव अधिकारीको नभएको पुष्टि भयो।
‘धादिङमा भेटिएको शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी गयौँ। तर हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो,’ विनयले भने।
अधिकारीका छिमेकी तथा मिल्ने साथी नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालका अनुसार उनी सम्पर्कविहीन भएदेखि नै पोखरा–१४ को समावेशी टोलमा सन्नाटा छाएको छ।
सहयोगी, मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि खोजीमा जुटेका थिए। पोखरा, चितवनलगायतका अस्पतालसम्म पुगेर शव वा अन्य कुनै सुराक खोजिए पनि लामो समयसम्म उनको अवस्था पत्ता लाग्न सकेन।
‘जागिरका क्रममा उनी टिमुरे गए पनि हामीबीच दैनिकजसो कुराकानी हुन्थ्यो। टाढा रहे पनि उनलाई टोल र छिमेकको सधैँ चासो हुन्थ्यो। कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो। साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ,’ बरालले भने।
सामाजिक काममा सक्रिय अधिकारी गीत–सङ्गीतमा पनि रुचि राख्थे। समावेशी टोलका सहसचिवका रूपमा उनले टोलका समस्या समाधान तथा विकासका काममा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनको अर्को चिनारी थियो—मुरलीको मधुर धुन। साथीभाइ जम्मा भएका बेला मुरली बजाएर सबैलाई मनोरञ्जन दिने अधिकारीको त्यो कला अहिले टोलवासीका लागि सम्झना बनेको छ।
छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली सधैँ साथमा राख्थे।
‘साथीभाइ जम्मा हुनेबित्तिकै उनी मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउँथे। घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ। अर्को मुरली उहाँको सम्झनाका लागि घरमै राखेका छौँ,’ पाण्डेले भने।
तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४ को समावेशी टोलमा बस्दै आएको छ। परिवारमा आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी छन्।
भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन छन्। उनीहरूका परिवार अझै पनि आफ्ना प्रियजन सकुशल फर्किने झिनो आशामा छन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएका छन्। अन्यको अवस्था भने अझै अज्ञात छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्