हेटौँडा । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौं आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक मार्गको आवश्यकता बढेसँगै प्रदेश सरकारले सडकको मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो।
मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटकपटक हुने अवरोधका कारण हेटौँडा–काठमाडौं आवागमन प्रभावित हुने समस्या समाधान गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको बताए।
मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदमलामासहितको टोलीले बिहीबार सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो।
मुख्यमन्त्री थापाका अनुसार सडकको मर्मत तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ। सडकको अवस्थाअनुसार तत्काल आवश्यक मर्मत गरी सवारी सञ्चालन योग्य बनाउने तयारी भइरहेको छ।
उक्त सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौं आवागमनका लागि थप विकल्प उपलब्ध हुनेछ। पृथ्वी राजमार्गलगायत मुख्य सडक अवरुद्ध भएका बेला यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्याउन सहज हुने प्रदेश सरकारको अपेक्षा छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्