काठमाडौं । उडानका क्रममा लागुऔषध सेवन गरेको पुष्टि भएपछि एयर इन्डियाले एक पाइलटलाई सेवाबाट बर्खास्त गरेको छ। ती पाइलट गत अगस्ट ४ मा दिल्लीबाट फुकेटका लागि उडेको एयर इन्डियाको विमान केही सेकेन्डमै असामान्य रूपमा तल झर्दा २४ यात्रु घाइते भएको घटनामा ‘पाइलट–इन–कमान्ड’ थिए।
घटनापछि गरिएको परीक्षणमा कमान्डर पाइलटको लागुऔषध परीक्षणको नतिजा ‘नन–नेगेटिभ’ आएको थियो। त्यसपछि एयरलाइन्सले उनलाई सेवाबाट हटाएको हो।
विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) को प्रारम्भिक प्रतिवेदनले पनि उक्त विषयलाई गम्भीर रूपमा लिँदै नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) लाई पाइलटमाथि प्राथमिकताका साथ उपयुक्त कारबाही गर्न सिफारिस गरेको थियो।
प्रतिवेदनमा उडानका क्रममा लागुऔषध सेवन गर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख छ। घटनाको विस्तृत अनुसन्धान भने जारी रहेको र अन्तिम प्रतिवेदन सार्वजनिक हुन एक वर्ष वा सोभन्दा बढी समय लाग्न सक्ने जनाइएको छ।
केही सेकेन्डमै विमानले गुमायो उचाइ
प्रारम्भिक अनुसन्धानअनुसार विमान निर्धारित ‘फ्लाइट लेभल ३६०’ भन्दा सुरुमा ३७२ फिट माथि पुगेको थियो। त्यसपछि विमान अचानक २९२ फिट तल झरेको थियो।
विमान क्रुजिङ उचाइमा रहेका बेला सिटबेल्ट संकेत बन्द भएकाले अचानक आएको उचाइको परिवर्तनबाट यात्रु र चालक दलका सदस्य प्रभावित भएका थिए।
विमान केही समयका लागि तल झर्दा तीनवटै हाइड्रोलिक प्रणालीले काम गर्न छाडेको, अटोपाइलट डिस्इंगेज भएको र करिब दुई सेकेन्डसम्म ‘स्टल वार्निङ’ बजेको प्रतिवेदनमा उल्लेख छ।
घटनालगत्तै सह–पाइलटले विमानको नियन्त्रण सम्हालेका थिए। केही समयपछि हाइड्रोलिक प्रणाली पुनः सञ्चालनमा आएपछि उडान सामान्य अवस्थामा फर्किएको थियो।
विमानको भित्री भागमा क्षति
असामान्य रूपमा विमान तल झरेका कारण यसको भित्री भागमा समेत विभिन्न क्षति पुगेको अनुसन्धानबाट खुलेको छ।
विमानका केही सिलिङ प्यानल चर्किएका वा खसेका छन्। ह्यान्ड्रेल बांगिएका वा भाँचिएका छन् भने आपत्कालीन निकास र ओभरहेड बिनका विभिन्न पार्टपुर्जामा पनि क्षति पुगेको छ।
एउटा शौचालयको कमोडसमेत आफ्नो स्थानबाट उप्किएको थियो। पछाडिको ढोकानजिक रहेको क्रु सिट तथा अन्य सामग्रीमा पनि क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
घटनाको प्राविधिक कारण तथा पाइलटको भूमिकासहितका विषयमा विस्तृत अनुसन्धान जारी रहेको छ। प्रारम्भिक प्रतिवेदनका आधारमा भएको कारबाहीलाई अन्तिम अनुसन्धानको निष्कर्षसँग अलग रूपमा हेरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्