ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेवा किनारका ज्यानमारा घुम्तीहरू !


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ७ : १५   बजे

फेवातालको डिलमा मृत्युको पासो : एउटै मोडमा बारम्बार किन खस्छन् गाडी ?

पोखरा । पोखराको पहिचानसँग जोडिएको फेवाताल। तालको किनारैकिनार घुम्ने सडक। एकातिर पर्यटकको आकर्षण, अर्कोतिर त्यही सडकमा बारम्बार दोहोरिने दुर्घटना।

शुक्रबार फेवातालमा कार खस्दा दुई भारतीय पर्यटकको ज्यान गयो। शनिबार तालमा डुबेर अर्का एक जनाले ज्यान गुमाए। दुई दिनमै फेवाताल आसपास तीन जनाको मृत्यु भएपछि तालको डिलसँग जोडिएको सडक सुरक्षाको प्रश्न फेरि गम्भीर बनेको छ।

शुक्रबार बिहान करिब ५ बजे पोखरा–१८ गैरीचौताराको घुम्तीबाट कार करिब २० मिटर तल फेवातालमा खस्यो। सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कार चालकले नियन्त्रण गुमाउँदा भएको दुर्घटनामा भारतको बिहार, पूर्वी चम्पारणका २६ वर्षीय नवदीपकुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डेको मृत्यु भयो।

दुर्घटनामा घाइते भएका बिहारका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादव उपचारपछि घर फर्किसकेका छन्।

तर, यो ठाउँमा भएको दुर्घटना पहिलो भने होइन।

एउटै ठाउँ, दोहोरिइरहेको दुर्घटना

गत फागुन २ गते पनि सोही स्थानमा कार फेवातालमा खसेको थियो। उक्त दुर्घटनामा पोखरा–७ मासबार बस्ने स्याङ्जा फेदीखोला–५ का २४ वर्षीय अदित गुरुङको मृत्यु भएको थियो।

२०७६ फागुन २६ गते बिहान पोखरा–१८ रातामाटे डाँडाबाट पनि कार फेवातालमा खसेको थियो। ग२च ६९१२ नम्बरको कार तालमा खस्दा चार जना घाइते भएका थिए।

गैरीचौतारादेखि रातामाटेसम्मको सडकखण्डमा यस्ता दुर्घटना पटक–पटक भइरहेका छन्। कतिपय दुर्घटनामा स्थानीय मात्र होइन, आन्तरिक तथा बाह्य पर्यटकले समेत ज्यान गुमाएका छन्।

यसले एउटा गम्भीर प्रश्न उठाएको छ—दुर्घटना भइरहने थाहा हुँदाहुँदै जोखिमपूर्ण सडकमा सुरक्षा उपाय किन पर्याप्त हुन सकेको छैन ?

रातको समयमा बढ्छ जोखिम

स्थानीयका अनुसार यस क्षेत्रमा हुने अधिकांश दुर्घटना राति २ बजेदेखि बिहान ५–६ बजेको आसपास हुने गरेका छन्।

स्थानीय भीम पराजुलीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने र चालकको लापरवाही दुर्घटनाको प्रमुख कारणमध्ये हुन्।

“मुख्य भनेको मापसे र चालकको लापरवाही नै देखिन्छ,” उनी भन्छन्, “दिउँसो चेकिङ हुन्छ, रातमा समेत गर्नुपर्ने आवश्यकता छ।”

पामे फाँटतर्फ जाने मुख्य सडक भएकाले राति घुमघाम सकेर फर्किने क्रममा चालकले गति नियन्त्रण नगर्दा जोखिम अझ बढ्ने गरेको स्थानीयको भनाइ छ।

विशेषगरी पामे क्षेत्रमा घुम्न गएर राति फर्किने क्रममा मापसे गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको स्थानीयको दाबी छ।

तालको डिलमै जोखिमपूर्ण घुम्ती

स्थानीय बाबुराम भुजेलका अनुसार गैरीचौतारा र रातामाटे दुवै ठाउँका घुम्ती जोखिमपूर्ण छन्।

“यो घुम्ती र पारीपट्टि रातामाटे पनि घुम्तीमै छ। यी दुई घुम्ती तालकै डिलमा भएका कारण निकै खतरा छ,” उनी भन्छन्।

सडक छेउमा पर्याप्त सुरक्षा संरचना नहुनु, रातको समयमा प्रकाशको अभाव हुनु र तालतर्फ सिधै झर्ने भू–बनोटले दुर्घटनाको जोखिम थप बढाएको स्थानीयको भनाइ छ।

गाडीले सामान्य रूपमा नियन्त्रण गुमाउँदा पनि सडकबाट तल खस्ने सम्भावना भएकाले यस्ता स्थानमा बलियो ब्यारियर, पर्याप्त बत्ती, संकेत बोर्ड र गति नियन्त्रणका उपाय आवश्यक देखिन्छन्।

बजेट छुट्याएर मात्र सुरक्षा हुँदैन

दुर्घटना न्यूनीकरणका लागि पोखरा महानगरपालिका–१८ ले ४ लाख ४० हजार रुपैयाँ छुट्याएको छ।

स्थानीयका अनुसार गैरीचौतारामा ब्यारियर निर्माणका लागि समिति समेत गठन गरिएको छ। तर, जोखिमको प्रकृति हेर्दा एउटा ब्यारियर निर्माण वा सीमित बजेटले मात्र समस्या समाधान नहुने उनीहरूको भनाइ छ।

सडकको प्राविधिक अध्ययन, पर्याप्त प्रकाश, बलियो सुरक्षा बार, चेतावनी संकेत, गति नियन्त्रण, रातिको प्रहरी चेकिङ र मापसे परीक्षणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ।

प्रहरी पनि कारण खोज्दै

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले पछिल्ला दुर्घटनाबारे अध्ययन भइरहेको बताएका छन्।

बारम्बार दुर्घटना हुने क्षेत्र भएकाले सडक सुरक्षाका लागि सम्बन्धित निकाय र स्थानीयसँग समन्वय आवश्यक रहेको उनको भनाइ छ।

“कारमा सवार दुई जना पर्यटकको मृत्यु भएको छ। हामी यो विषयमा गम्भीर भएर अनुसन्धान गरिरहेका छौँ,” उनले भने, “मापसे गरी सवारी चलाएको हो कि भन्ने छ। त्यसबारे समेत अनुसन्धान गर्न बैदाम प्रहरीलाई भनेका छौँ।”

पोखराको पर्यटन र सडक सुरक्षाको प्रश्न

फेवाताल पोखराको मात्र होइन, नेपालको प्रमुख पर्यटकीय आकर्षण हो। यहाँ आउने पर्यटकले ताल, हिमाल र पोखराको प्राकृतिक सौन्दर्यसँगै सडकमार्फत आसपासका क्षेत्रको यात्रा गर्छन्।

तर पर्यटकीय क्षेत्रकै सडकमा बारम्बार हुने दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिले पर्यटन सुरक्षाको प्रश्न पनि उठाउँछ।

दुर्घटना भएपछि अनुसन्धान गर्ने र क्षतिपछि प्रतिक्रिया जनाउनेभन्दा दुर्घटना हुनुअघि नै जोखिम पहिचान गरेर सुरक्षा संरचना निर्माण गर्नु राज्य र स्थानीय तहको दायित्व हो।

गैरीचौतारा र रातामाटेमा दुर्घटना दोहोरिइरहेका छन् भने अब यसलाई संयोग भनेर पन्छाउने अवस्था छैन। जोखिम पहिचान भइसकेको छ, दुर्घटनाको इतिहास पनि छ। अब आवश्यक छ—त्यसअनुसारको ठोस सुरक्षा योजना।

फेवाताल पोखराको गहना हो। यसको किनार पर्यटकका लागि सुन्दर दृश्यको गन्तव्य बन्नुपर्छ, मृत्युको जोखिम बोकेको सडक होइन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजामती सेवामा राजीनामाको लहर : साउनयता १४० कर्मचारीले छाडे सेवा

भोटेकोसी बाढीको १२औँ दिन : रसुवाका चार जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

सम्बन्धित

रोल्पाको सहिदमार्ग अवरुद्ध

कञ्चनपुरमा तीन घरको एउटै प्रतीक्षा : ‘बाबा कहिले आउनुहुन्छ?’

रसुवामा बाढीको कहर : ३ हजार ७१ अझै सम्पर्कविहीन, १ हजार ३१३ को जीवितै उद्धार

काजकिरिया चल्दै गर्दा जीवितै उद्धार

५८ वर्षपछि घर फर्किए यामबहादुर : परिवारले आशा मारेको दाजु फूलमालासहित स्वागत

काठमाडौँको ग्यास अभाव टार्न बाहिरबाटै दैनिक ३५ हजार सिलिन्डर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu