ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ सेकेन्डले जोगिएको ज्यान : टिमुरे बाढीबाट बाँचेका तीन कर्मचारी फेरि सहकर्मी खोज्न फिल्डमा


ABC NEWS
२१ भदौ २०८३, आइतबार   ९ : १५   बजे

 

काठमाडौं । भदौ १० गते रसुवाको टिमुरेमा आएको बाढीले सयौँ परिवारको जीवन तहसनहस बनायो। कसैले आफन्त गुमाए, कसैले घर। कतिपय अझै आफ्ना प्रियजनको खबरको प्रतीक्षामा छन्।

त्यही त्रासदीका प्रत्यक्ष साक्षी हुन् रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत प्रेमप्रसाद सुवेदी, नायब सुब्बा ज्योतीन्द्रप्रसाद पौडेल र भन्सार अधिकृत तथा सूचना अधिकारी करविर गैह्रे।

बाढीको छालबाट केही सेकेन्डको अन्तरले ज्यान जोगाएका उनीहरू अहिले भने आफ्नै सहकर्मीको खोजीमा देशका विभिन्न जिल्लाका अस्पताल र सम्भावित स्थान चहारिरहेका छन्।

रसुवा भन्सार कार्यालयमा कार्यरत १५ कर्मचारी अझै सम्पर्कविहीन छन्। भन्सार विभागका अनुसार तीमध्ये एक जनाको मात्र शव फेला परी सनाखत भएको छ।

आफू बाँच्नुको खुसीभन्दा हराएका साथीको चिन्ता ठूलो छ उनीहरूका लागि।

‘भेलको छाल देखेर भागेँ’

भन्सार अधिकृत प्रेमप्रसाद सुवेदीका आँखामा अझै त्यो दिनको दृश्य ताजा छ।

उनका अनुसार उनीहरूभन्दा करिब ५० मिटर अगाडि एक्कासि पानीको ठूलो छाल उर्लियो। त्यो देख्नासाथ उनीहरू भागे।

‘त्यो छाल निकै उचाइमा थियो। हामी १०/१५ सेकेन्डले बचेका हौँ,’ सुवेदीले सम्झिए, ‘हाम्रा साथीहरू पनि त्यति नै समयमा बगे अथवा सम्पर्कविहीन भए।’

बाढी आएको केहीबेरमै पौने ९ बजेतिर पानी घट्न थाल्यो। सुरक्षाकर्मीका केही सदस्यसमेत सम्पर्कमा नआएपछि उनीहरू आफैं उद्धारमा जुटे।

पहिलो प्राथमिकतामा घाइते, औषधि खानुपर्ने व्यक्ति र वृद्धवृद्धा परे। उनीहरूलाई सुरक्षित स्थानमा पठाउने काम गरेपछि करिब ४ बजेतिर काठमाडौं आइपुगे।

तर काठमाडौं आएपछि पनि आराम गर्ने अवस्था थिएन।

भोलिपल्ट भन्सार विभाग पुगेका उनीहरूले हराएका सहकर्मीका आफन्तलाई भेटे। त्यसपछि एउटै प्रश्नले उनीहरूलाई फेरि फिल्डतिर डोर्‍यायो—साथीहरू कतै जीवितै छन् कि ?

‘जे जस्तो भए पनि हामी हाम्रो मनलाई संयमित बनाएर साथीहरू भेट्न सकिन्छ कि भनेर विभागमा टोली बनायौँ,’ सुवेदीले भने, ‘यस्तो समयमा आराम गर्ने होइन भनेर हिँड्यौँ।’

 

प्रेमप्रसाद सुवेदी, 

प्रेमप्रसाद सुवेदी, 

‘१५ सेकेन्डले हामी बच्यौँ, १५ सेकेन्डले साथीहरू गए’

सुवेदीको टोली पूर्वी नवलपरासीका अस्पताल हुँदै भैरहवा र बुटवलसम्म पुग्यो। हराएका साथीहरू अस्पतालमा ल्याइएका छन् कि भनेर खोजियो।

साथीजस्तो देखिने शवका तस्बिर स्क्रिनसट गरेर भन्सार कार्यालयमा पठाइयो। तर उनीहरूले खोजेको अनुहार भेटिएन।

त्यसपछि नेपाल प्रहरीले शवहरू बिग्रिँदै गएकाले व्यवस्थापन गर्नुपर्ने र अनुहारबाट पहिचान गर्न कठिन हुने जानकारी दिएपछि उनीहरू फर्किए।

तर टिमुरेको त्यो दिनको दृश्य भने उनीहरूको मनबाट हटेको छैन।

‘त्यो दिन बल्लबल्ल बाँचेर फर्कियौँ, त्यो सम्झिँदा पनि डर लाग्छ,’ सुवेदी भन्छन्, ‘अर्धचेतमै दौडिएका थियौँ। ठेस लागेको भए वा बाटोमा अलमल भएको भए बाढीले हामीलाई तानिहाल्थ्यो।’

उनका अनुसार बाढीअघि टिमुरेमा करिब २५–३० हजार मानिस बसोबास गर्थे। तर बाढीपछि पाखामा पुगेर हेर्दा करिब ८५ जना मात्र देखिएका थिए।

‘त्यस्तो त्रासदीबाट बचेर फर्केको फेरि त्यही ठाउँमा जान गाह्रो त भयो। तर साथीहरूको कारण गयौँ,’ उनी भन्छन्, ‘१५ सेकेन्डले हामी बच्दा १५ सेकेन्डले नै हाम्रा साथीहरू जानुभयो। त्यही १५ सेकेन्डलाई सम्झिँदा फेरि जाऊँ भनेर फिल्डमा हिँड्यौँ।’

‘चिया खाँदाखाँदै सुनामीजस्तो छाल आयो’

नायब सुब्बा ज्योतीन्द्रप्रसाद पौडेलका लागि पनि त्यो बिहान कहिल्यै नबिर्सिने दिन बनेको छ।

भदौ १० गते बिहान करिब ८ बजे उनीहरू कार्यालय पुगिसकेका थिए। भन्सारसम्बन्धी प्रज्ञापनपत्र भर्ने र जाँचपास गर्ने काम चलिरहेको थियो।

भन्सारको गाडी जाँचपास गर्ने यार्ड खोला किनारमा थियो। तर त्यस दिन प्रमुखले ‘धेरै काम छैन, खाना खाएर जाऊँ’ भनेपछि उनीहरू तल झरेनन्।

एकछिन क्यान्टिनमा बसेर चिया खाँदै थिए।

अचानक करिब १०० मिटर अगाडिबाट ठूलो छाल उर्लिएको देखियो।

‘सुनामीको छालजस्तो थियो,’ पौडेलले भने, ‘हामी बस्ने ठाउँ खोँचमा छ। दुईतिर डाँडा छन्। डाँडा खसेर यस्तो भएको होला भन्ने सोचेर पहिरो आयो भन्दै कराउँदै भाग्न थाल्यौँ।’

उनीहरू कान्ला चढ्दै उकालो लागे।

करिब १५–२० सेकेन्डमै माथि पुगे।

‘त्यो बेलासम्म पानीका छिटाले हानिसकेको थियो। करिब दुई मिटरले मलाई त्यो छालले भेट्टाएन,’ उनले भने।

माथि पुगेर हेर्दा टिमुरेमा प्रलय आएकोजस्तो दृश्य थियो। पाँच–सात तलासम्मका अग्ला घर र होटलहरू बाढीले बगाइरहेको थियो।

बाढीमा केही सेकेन्डले ज्यान जोगाए, उद्धार भएलगत्तै सहकर्मी खोज्न हिँडे

ज्योतीन्द्रप्रसाद पौडेल

१५ साथी सम्पर्कविहीन

पौडेलले परिवारलाई जानकारी दिन भिडियो पोस्ट गरे। त्यसपछि उनीहरूसँगै भाग्न सफल भएका कर्मचारीहरू एकअर्काको सम्पर्कमा आउन थाले।

१६ जना एक ठाउँमा जम्मा भए।

तर कार्यालयका १५ जना साथी सम्पर्कमा आएनन्।

दुई जना साथी घाइते भएको खबर भने आयो।

‘हाम्रो त खुट्टा थरथर कामेको थियो। हिँड्न सक्ने अवस्थामा थिएनौँ,’ पौडेलले सम्झिए, ‘त्यसपछि सुरक्षा टोलीलाई खबर गरेर उद्धार गर्ने काम भयो।’

उनका लागि सबैभन्दा असहज कुरा बाढीको प्रकृति थियो।

‘त्यो बाढी खोलाबाट आएको जस्तो थिएन, आकाशतिरबाट झरेको जस्तो थियो,’ उनले भने।

‘उद्धार भएर काठमाडौं आएलगत्तै साथी खोज्न जानुपर्‍यो’

भन्सार अधिकृत तथा सूचना अधिकारी करविर गैह्रे पनि त्यही त्रासदीबाट बाँचेर काठमाडौं पुगेका थिए।

तर काठमाडौं पुगेको केही समयमै उनी फेरि फिल्डमा फर्किए।

भदौ ११ गते काठमाडौं बसेर भदौ १२ गते उनी सहकर्मीको खोजीमा निस्किए।

‘हामी आफैं एक खालको ट्रमामा थियौँ,’ गैह्रेले भने, ‘त्यति ठूलो दुर्घटनाबाट बचेर आएको, फेरि सँगैका साथीहरूको लास पाइन्छ कि भन्ने आशमा हिँड्दा केही अप्ठ्यारो भयो।’

तर कर्मचारीको जिम्मेवारीले उनलाई रोकेन।

‘कर्मचारी हो, खटाएपछि जहाँ पनि जानुपर्छ भनेर सामान्य हिसाबले हिँड्यौँ।’

गैह्रेको टोलीले भैरहवाको भीम अस्पताल, नवलपरासी, पाल्पा, तितरा र लुम्बिनीका अस्पतालसम्म पुगेर हराएका सहकर्मीको खोजी गर्‍यो।

‘हिँडेर त गइयो। तर त्यसमा धन्न परिएन भन्ने सोच्दा मानसिक रूपमा विक्षिप्त भइने रहेछ,’ उनले भने।

मृत्युबाट फर्किएकाहरूको अर्को परीक्षा

भदौ १० को बाढीले उनीहरूको जीवनमा दुई फरक अनुभव एकैपटक छोडेको छ।

एकातिर—आफू बाँचेको क्षण।

अर्कोतिर—आफ्नै आँखाअगाडि हराएका सहकर्मीको अनिश्चितता।

उनीहरूका लागि बाँच्नु केवल व्यक्तिगत भाग्यको कुरा रहेन। बाँचिसकेपछि हराएका साथी खोज्ने जिम्मेवारी पनि थपियो।

त्यसैले मृत्युको मुखबाट फर्किएका प्रेम, ज्योतीन्द्र र करविरले आफ्ना लागि विश्राम रोजेनन्। उनीहरू फेरि त्यही विपत्तिको कथा बोकेर देशका विभिन्न ठाउँमा पुगे—अस्पतालमा, सम्भावित शवको पहिचानमा, आफन्तको आशामा।

रसुवा भन्सार कार्यालयका अझै १५ कर्मचारीको अवस्था अनिश्चित छ।

तीन कर्मचारीका लागि भने भदौ १० को त्यो दिन एउटा प्रश्नमा अड्किएको छ—

‘हामी १५ सेकेन्डले बाँच्यौँ, हाम्रा साथीहरू कहाँ गए?’

यस प्रश्नको उत्तर नआएसम्म उनीहरूको उद्धार सकिएको छैन।

करविर गैह्रे

करविर गैह्रे

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : मृतक १ हजार ३४१, सम्पर्कविहीन झण्डै ५ हजार

कृष्णभीरमा राजमार्ग अवरुद्ध भएपछि तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौं भित्रियो

सम्बन्धित

विपत्तिमा पनि दलहरूको अलमल : सर्वदलीय संयन्त्र कहाँ अड्कियो ?

कञ्चनपुरमा तीन घरको एउटै प्रतीक्षा : ‘बाबा कहिले आउनुहुन्छ?’

रसुवामा बाढीको कहर : ३ हजार ७१ अझै सम्पर्कविहीन, १ हजार ३१३ को जीवितै उद्धार

फोनको घण्टी पर्खिरहेका घर्ती दम्पतीका परिवार

काठमाडौँको ग्यास अभाव टार्न बाहिरबाटै दैनिक ३५ हजार सिलिन्डर

बगर बनेको देवीघाट : ‘धन्न बाँचियो, तर अब कसरी बाँच्ने?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu