काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरो र जमिन चर्किने जोखिम बढेको छ। विशेषगरी टोखा र तारकेश्वर नगरपालिकाका डाँडाकाँडा तथा भिरालो क्षेत्रमा पहिरो खस्ने समस्या देखिन थालेपछि स्थानीयवासी त्रसित छन्।
लगातारको वर्षाले जमिन कमजोर बन्दै जाँदा सडक तथा बस्ती आसपास पहिरो खस्न थालेको हो। वर्षा अझै जारी रहेकाले थप पहिरो जान सक्ने जोखिमका कारण स्थानीयमा त्रास कायमै छ।
उपत्यकामा पहिरोको जोखिम प्राकृतिक कारणसँगै अव्यवस्थित सहरीकरणका कारण पनि बढ्दै गएको स्थानीयको भनाइ छ। डाँडाकाँडा काटेर संरचना निर्माण गर्ने, प्राकृतिक पानीको निकास अवरुद्ध गर्ने, जथाभावी सडक खन्ने तथा भिरालो क्षेत्रमा प्लटिङ गर्ने क्रमले जमिनको स्थायित्व कमजोर बनाएको उनीहरू बताउँछन्।
विशेषगरी टोखा र तारकेश्वर क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार भए पनि भू–जोखिम अध्ययन र आवश्यक पूर्वाधार व्यवस्थापन पर्याप्त नहुँदावर्षायाममा पहिरोको समस्या दोहोरिने गरेको छ।
स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायलाई जोखिमबारे जानकारी गराए पनि दीर्घकालीन समाधानमा पर्याप्त ध्यान नदिइएको गुनासो गरेका छन्। पहिरो रोकथामका लागि तत्काल पर्खाल निर्माण, तारजाली लगाउने तथा सडक मर्मत गर्ने गरिए पनि जोखिमको मूल कारण नियन्त्रण हुन नसकेको उनीहरूको भनाइ छ।
विज्ञहरूले जोखिमयुक्त क्षेत्रमा निर्माण नियन्त्रण, भू–प्राविधिक अध्ययन, प्राकृतिक पानीको निकास संरक्षण तथा अव्यवस्थित प्लटिङमा कडाइगर्नुपर्ने सुझाव दिएका छन्।
वर्षा अझै जारी रहने भएकाले उपत्यकाका पहिरो सम्भावित क्षेत्रमा तत्काल अनुगमन, जोखिम पहिचान र न्यूनीकरणका उपायलाई प्राथमिकतादिनुपर्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्