गौशाला । देशकै प्रमुख धान उत्पादन क्षेत्र मधेस प्रदेशमा आधाभन्दा बढी खेतीयोग्य जमिन अझै आकाशे पानीको भरमा रहेको छ। पर्याप्त सिँचाइ सुविधा विस्तार हुन नसक्दा अनियमित वर्षाको प्रत्यक्ष असर धान उत्पादनमा पर्ने गरेको छ।
प्रदेश सरकारको ‘कृषि दर्पण’ अनुसार प्रदेशमा खेती गरिएको कुल क्षेत्रफलमध्ये ४९ दशमलव ४४ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ। बाँकी जमिन वर्षामा निर्भर छ।
जिल्लागत रूपमा सर्लाहीमा सबैभन्दा बढी ७२ दशमलव ६८ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। पर्सामा ६१ दशमलव २१, धनुषामा ५१, बारामा ५० र रौतहटमा ४८ दशमलव ९१ प्रतिशत जमिन सिञ्चित छ।
यस्तै, सिरहामा ३९ दशमलव ७८, सप्तरीमा करिब ३४ र महोत्तरीमा ३२ दशमलव ५४ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ।
मधेसमा कुल ५ लाख ६७ हजार ५६५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७४ हजार ११७ हेक्टरमा धान खेती हुँदै आएको छ। प्रदेशमा वार्षिक करिब १४ लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन हुने गरेको छ।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा १५ लाख २ हजार ५८ मेट्रिक टन धान उत्पादन भएको थियो भने अघिल्लो आर्थिक वर्षमा १२ लाख ९६ हजार ६०७ मेट्रिक टन उत्पादन भएको तथ्यांक छ।
तर, धान रोपाइँका बेला पर्याप्त वर्षा नहुँदा किसानले समयमै रोपाइँ गर्न नसक्ने र रोपाइँपछि पानी नपर्दा बालीमा क्षति हुने गरेको छ। पछिल्ला वर्षमा खडेरीको समस्या बढ्दै जाँदा वर्षामा निर्भर किसानको जोखिम झन् बढेको छ।
नेपालमा वार्षिक करिब ७२ लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि औसत उत्पादन करिब ६० लाख मेट्रिक टन मात्रै हुने गरेको छ। माग धान्न करिब १२ लाख मेट्रिक टन धान भारतबाट आयात गर्नुपर्ने अवस्था छ।
सिँचाइ विस्तारका लागि संघ, प्रदेश र स्थानीय तहले डिप ट्युबेल, नहर, कुलो तथा बोर्डिङ निर्माणमा लगानी गरे पनि निर्माण भएका संरचनाको नियमित सञ्चालन, मर्मतसम्भार र प्रभावकारी पानी वितरणमा समस्या हुँदा किसानले अपेक्षित लाभ लिन सकेका छैनन्।
कृषि उत्पादनको प्रमुख आधार मानिएको सिँचाइमा योजनाबद्ध लगानी र दीर्घकालीन व्यवस्थापन गर्न सके वर्षाको अनिश्चितताबाट किसानलाई जोगाउँदै धान उत्पादन र आम्दानी दुवै बढाउन सकिने देखिन्छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्