काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विपद्पछि नेपाल स्काउटले खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा व्यापक रूपमा स्वयंसेवक परिचालन गरेको छ । प्रभावित समुदायको तत्काल आवश्यकता पहिचान गर्दै सरकारी निकायसँगको समन्वयमा स्काउट स्वयंसेवकहरू उद्धारदेखि राहत सामग्री व्यवस्थापन, सामुदायिक भान्सा, होल्डिङ सेन्टर सञ्चालन तथा बालबालिकाका लागि मनोसामाजिक सहयोगसम्मका काममा खटिएका छन् ।
सरकारले नेपाल स्काउटको राष्ट्रिय कार्य समितिमा नयाँ अन्तरिम समिति गठन गरेपछि संस्थाका गतिविधिले पुनः गति लिएको हो । अध्यादेशमार्फत तत्कालीन कार्यसमिति विघटन भएपछि केही समय नेतृत्वविहीन बनेको नेपाल स्काउटमा सन्तोषकुमार थापाको संयोजकत्वमा अन्तरिम समिति गठन गरिएको छ ।
निर्वाचनमार्फत नयाँ नेतृत्व चयन नहुँदासम्मका लागि गठन गरिएको समितिले नियमित स्काउट गतिविधिसँगै पछिल्लो विपद् व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।
भोटेकोसी विपद्को पहिलो दिनदेखि नै नेपाल स्काउटका तालिमप्राप्त स्वयंसेवक प्रभावित क्षेत्रमा परिचालित भएका छन् । स्थानीय आवश्यकता र सरकारी विपद् व्यवस्थापन संयन्त्रसँगको समन्वयका आधारमा स्वयंसेवक तथा उपलब्ध स्रोतलाई आवश्यक स्थानमा पठाइएको छ ।
स्काउट स्वयंसेवकहरूले उद्धार तथा राहत कार्यसँगै खाना व्यवस्थापन, राहत सामग्री प्याकिङ तथा वर्गीकरण, सामुदायिक भान्सा सञ्चालन, होल्डिङ सेन्टर व्यवस्थापन र प्रभावित बालबालिकाका लागि सुरक्षित तथा सकारात्मक वातावरण निर्माणमा सहयोग गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय रूपमा परिचित वर्ल्ड सेन्ट्रल किचेनसँगको सहकार्यमा विभिन्न प्रभावित स्थानमा सामुदायिक भान्सा सञ्चालन गरी प्रभावित परिवार, उद्धारकर्मी तथा स्वयंसेवकका लागि नियमित खाना तयार र वितरण भइरहेको छ । विपद् लगत्तै उक्त संस्थाले प्रभावित क्षेत्रमा सेवा सुरु गरेको थियो ।
विपद्बाट प्रभावित बालबालिकालाई विशेष प्राथमिकतामा राख्दै स्काउट स्वयंसेवकहरूले खेलकुद, सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्नुका साथै आवश्यक मनोसामाजिक सहयोग प्रदान गरिरहेका छन् । यस्ता गतिविधिले विपद्का कारण बालबालिकामा परेको मानसिक असर कम गर्न र उनीहरूलाई सुरक्षित वातावरणमा सामान्य अवस्थामा फर्कन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिमप्राप्त स्काउट स्वयंसेवकहरू पालैपालो प्रभावित क्षेत्रमा पठाइएका छन् भने केही स्वयंसेवक लामो समयदेखि निरन्तर फिल्डमै खटिएका छन् । यसले तत्काल राहतसँगै निरन्तर स्वयंसेवा र पुनर्स्थापना कार्यलाई अगाडि बढाउन सहयोग पुगेको नेपाल स्काउटले जनाएको छ ।
काठमाडौंमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा पनि नेपाल स्काउटका स्वयंसेवक परिचालित छन् । उनीहरूले प्रभावित तथा स्थानान्तरण गरिएका नागरिकका लागि खानपान, बसोबास तथा आवश्यक सहजीकरणमा सहयोग गरिरहेका छन् ।
राहत सामग्री व्यवस्थापनमा समेत नेपाल स्काउटको सक्रिय सहभागिता रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सम्बन्धित कार्यालयमा दैनिक २५ जनाभन्दा बढी स्वयंसेवक परिचालन गरी राहत सामग्रीको प्याकिङ, वर्गीकरण, व्यवस्थापन तथा प्रभावित क्षेत्रमा पठाउने काममा सहयोग भइरहेको छ ।
राष्ट्रिय संयोजक थापा दैनिक रूपमा प्रभावित क्षेत्रमा परिचालन हुने स्वयंसेवकहरूसँग समन्वय गर्दै आवश्यक निर्देशनसहित टोलीहरू पठाउने कार्यमा सक्रिय छन् । विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका स्काउटरहरू सुरक्षाकर्मी तथा अन्य उद्धार टोलीसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।
प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक वालेन्द्र शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको समन्वयमा नेपाल स्काउटको संयन्त्र विपद् व्यवस्थापनमा परिचालित भएको जनाइएको छ । सरकारी निकायबाट समेत नेपाल स्काउटको स्वयंसेवी परिचालन र राहत कार्यमा पुर्याएको सहयोगको सकारात्मक मूल्यांकन भइरहेको छ ।
विपद्को सुरुआतदेखि नै राष्ट्रिय संयोजक थापाले सम्बन्धित मन्त्रालय, सरकारी निकाय, विपद् व्यवस्थापन संयन्त्र तथा प्रधानमन्त्री कार्यालयसँग निरन्तर समन्वय गर्दै स्वयंसेवी जनशक्ति र स्रोत परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।
नेपाल स्काउटले सरकारी आवश्यकता र प्रभावित समुदायको वास्तविक अवस्थाबीच समन्वय कायम गर्दै आवश्यक सहयोग पहिचान गर्ने, स्वयंसेवकलाई प्राथमिकताका आधारमा उचित स्थानमा परिचालन गर्ने तथा उपलब्ध स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्ने कार्यलाई जोड दिएको छ ।
स्काउटको स्वयंसेवी संरचनालाई सरकारी विपद् व्यवस्थापन प्रणालीसँग जोडेर एकीकृत रूपमा काम गर्ने प्रयासका कारण राहत वितरण, खाना व्यवस्थापन, होल्डिङ सेन्टर सञ्चालन तथा बालबालिकासँग सम्बन्धित सेवा थप व्यवस्थित बनाउन सहयोग पुगेको बताइएको छ ।
नेपाल स्काउटले तत्काल राहतमा मात्र सीमित नभई विपद्पछिको पुनर्स्थापना तथा दीर्घकालीन सहयोगका लागि पनि अन्तर्राष्ट्रिय समुदाय र साझेदार संस्थासँग समन्वय अघि बढाएको छ ।
सीमित स्रोतसाधनका बाबजुद ठूलो संख्यामा स्वयंसेवकलाई एकताबद्ध रूपमा परिचालन गर्न सफल भएको भन्दै नेपाल स्काउटको भूमिकाको विभिन्न क्षेत्रबाट प्रशंसा भइरहेको छ । विगतमा फरक धारमा रहेका स्काउटका अग्रज तथा स्वयंसेवक समेत अहिलेको विपद्का बेला साझा उद्देश्यसहित प्रभावित समुदायसँगै फिल्डमा खटिन थालेका छन् ।
यसले विपद्का बेला ‘सेवा, समन्वय र एकता’लाई केन्द्रमा राखेर नेपाल स्काउट अघि बढिरहेको सन्देश दिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्