काठमाडौ। उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङखोलामा आएको बाढीले मनासलु क्षेत्रको पर्यटन प्रभावित भएको छ ।
आइतबार बिहान आएको बाढीले दुईवटा पुल र मनासलु तथा लार्केपास जाने मुख्य पदमार्गमा क्षति पुर्याएपछि तत्कालका लागि पदयात्रा र पर्वतारोहणमा रोक लगाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले चुमनुब्री–४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा नाम्रुङ जङ्गलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको छ । पदमार्गमा समेत क्षति पुगेपछि यात्रामा रहेका तथा यात्रा तयारीमा रहेका पर्यटक प्रभावित भएका छन् ।
मानवीय क्षति भने भएको छैन । प्रहरी र स्थानीय तहसँगको समन्वयमा अवरुद्ध पदमार्ग तत्काल सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।
पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतुमा मनासलु आरोहणका लागि २९ समूहका ३४८ आरोहीले अनुमति लिएका छन् । तीमध्ये २६३ पुरुष र ८५ महिला छन् । चीनका ५५, रुसका ३९, अमेरिकाका ३२, फ्रान्सका २७, बेलायतका २४ र नेपालका १५ आरोहीले अनुमति लिएका छन् ।
शरद ऋतुमा मनासलु, मकालु र दङ्गा हिमाल आरोहणका लागि कुल ३२ समूहका ३६७ आरोहीले अनुमति लिएका छन् । तीनवटै हिमालबाट विभागले १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
पर्वतारोहण सञ्चालक सङ्घका अनुसार मनासलु आरोहणका लागि बाटो खुलाउने र डोरी टाँग्ने काम तीव्र पारिएको छ । सात सदस्यीय आइसफल डाक्टर टोलीले दोस्रो आधार शिविरसम्मको बाटो तयार पारिसकेको छ । चुचुरोसम्म बाटो तयार भएपछि मुख्य आरोहण खुला गरिनेछ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्