काठमाडौं। मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहेकाले आज देशभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत प्रभाव नेपालमा परेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
कोसी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोसी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर बदली रहनेछ । कोसी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकामा पनि आज दिउँसोपछि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन् । दिउँसो १–२ बजेपछि बादल बढ्दै वर्षा हुन सक्ने र दिनभर मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको उनको भनाइ छ ।
विभागले वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न, बाढी, पहिरो र डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमानमा २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्म मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्