काठमाडौं । देशका विभिन्न भूभागमा पछिल्ला दिनदेखि वर्षा भइरहेको छ । कतिपय स्थानमा भारी वर्षासमेत भइरहेको अवस्थामा जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार सोमबार (भदौ २२) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
सोमबार राति कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मंगलबार र बुधबार पनि वर्षा
मंगलबार (भदौ २३) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
मंगलबार राति कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, बुधबार (भदौ २४) दिउँसो वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
मनसुनसँगै न्यूनचापीय क्षेत्रको प्रभाव
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको तथा उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले वर्षा भइरहेको विभागको भनाइ छ ।
सोमबार बिहान पनि देशका केही भूभागमा वर्षा भएको थियो । कतिपय स्थानमा अझै वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार सोमबार डडेलधुरा र धनगढीमा वर्षाको सम्भावना ७० प्रतिशत रहेको छ ।
वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, पोखरा, काठमाडौं, जिरी, ओखलढुंगा, धनकुटा, धरान, ताप्लेजुङ र विराटनगरमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ ।
‘अझै दुई सातासम्म वर्षाको सम्भावना’
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि नेपालमा तत्काल वर्षा रोकिने सम्भावना नरहेको बताएका छन् ।
उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत दुई मौसमी मोडेलमा आगामी दुई सातासम्म वर्षा हुने संकेत देखिएको उल्लेख गरेका छन् ।
उनका अनुसार यो साताभरि पनि देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ ।
‘हिजो आइतबार पनि नेपालका धेरै ठाउँमा राम्रै वर्षा भयो । नेपालको मौसम लगभग हरेक दिन उस्तै देखिएको छ,’ उनले उल्लेख गरेका छन् ।
उनले आगामी दुई सातासम्म वर्षाको क्रम जारी रहने सम्भावना रहे पनि वर्षा निरन्तर भने नहुने स्पष्ट पारेका छन् ।
काठमाडौं र पूर्वी तराईमा बिहानै भारी वर्षा
डा. पोखरेलका अनुसार सोमबार बिहान ३/४ बजेदेखि काठमाडौं तथा पूर्वी तराईका केही स्थानमा एक–दुई घण्टा भारी वर्षा भएको थियो ।
तर देशभर एकनासको वर्षा हुने अवस्था भने नरहेको उनको भनाइ छ । उनका अनुसार वर्षा बेलाबेला हुने र रोकिने क्रम चल्नेछ भने सबै क्षेत्रमा समान रूपमा पानी पर्ने छैन ।
वर्षाको सम्भावना र भारी वर्षाको पूर्वानुमान भएका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्