नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित भई घरमा बस्न नसक्ने परिवारलाई विदुर नगरपालिकाले कोठा भाडावापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण बस्नयोग्य घर नभएका स्थानीयवासीलाई कोठा भाडामा लिएर बस्न अनुरोध गर्दै त्यसका लागि प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई ‘होल्डिङ सेन्टर’मा लामो समय बस्नुपर्ने अवस्था अन्त्य गर्दै अस्थायी रूपमा भए पनि सुरक्षित आवासमा बस्ने वातावरण बनाउन यस्तो निर्णय गरेको जनाएको छ ।
नगरप्रमुख श्रेष्ठका अनुसार बाढीका कारण विस्थापित भई अन्यत्र जान बाध्य परिवारलाई समेत पुनःस्थापनातर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले कोठा भाडाको रकम उपलब्ध गराउन लागिएको हो ।
खाद्यान्नदेखि भाँडाकुँडासम्म सहयोग
नगरपालिकाले कोठा भाडाको रकमसँगै प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा, भान्सामा प्रयोग हुने भाँडावर्तन तथा दैनिक प्रयोगका सरसफाइ सामग्री राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरपालिकाले कोठा भाडामा लिँदा वा दिँदा प्रचलित चलनचल्तीको भन्दा बढी भाडा नलिनसमेत आग्रह गरेको छ । कसैले विपत्तिको अवस्थाको फाइदा उठाउँदै बढी भाडा लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी नगरपालिकाले दिएको छ ।
अब राहत होइन, पुनःउत्थानमा जोड
बाढी गएको करिब दुई साता पुग्न लागेकाले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःउत्थानतर्फ अघि बढ्नुपर्ने समय आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था र दातृ निकायको सहकार्यमा अस्थायी आवास निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
नगरप्रमुख श्रेष्ठले बाढीले क्षति पुर्याएको ठाउँमा तत्कालै नयाँ घर निर्माण गर्न सम्भव नभएकाले अहिले दिगो रूपमा प्रयोग गर्न सकिने सामग्री र आवासीय प्रयोजनसँग सम्बन्धित सहयोग जुटाउनुपर्ने बताउनुभयो ।
उहाँका अनुसार विपद्पछि तत्काल उपलब्ध गराइने राहतसँगै प्रभावित परिवारलाई दीर्घकालीन रूपमा उपयोग गर्न सकिने सामग्री र सुरक्षित आवासको व्यवस्था गर्न आवश्यक छ ।
अन्य जिल्लाका विस्थापितलाई सम्बन्धित पालिकाले व्यवस्थापन गर्नुपर्ने
विदुर नगरपालिकाभित्र सञ्चालित ‘होल्डिङ सेन्टर’मा रहेका अन्य जिल्ला तथा पालिकाका नागरिकको व्यवस्थापन सम्बन्धित जिल्ला तथा स्थानीय तहले गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
होल्डिङ सेन्टरमा बसोबास गरिरहेका बाढी प्रभावितमध्ये करिब आधा व्यक्ति अन्य जिल्ला वा पालिकाका रहेको पाइएको नगरपालिकाले जनाएको छ ।
त्यसैले सम्बन्धित पालिका तथा जिल्लाले आवश्यक सहजीकरण गरी आफ्ना नागरिकलाई होल्डिङ सेन्टरबाट अन्यत्र व्यवस्थापन गर्दै स्थायी बसोबासको प्रबन्धतर्फ अघि बढ्न विदुर नगरपालिकाले आग्रह गरेको छ ।
भदौ २४ देखि विद्यालय खुल्ने
यसैबीच विदुर नगरपालिकाभित्र बाढीपछि रोकिएको विद्यालयको पठनपाठन भदौ २४ गतेदेखि नियमित सञ्चालन हुने भएको छ ।
नगर कार्यपालिकाको बैठकले अस्थायी आवास केन्द्र सञ्चालन भइरहेका तथा पूर्ण रूपमा क्षति भएका विद्यालयबाहेक अन्य विद्यालयमा नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।
बाढी गएको दिनदेखि रोकिएको पढाइ पुनः सञ्चालन गर्दै विद्यार्थीलाई आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा अध्ययन गर्न जान पाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
विद्यार्थीलाई विद्यालय जान सहज बनाउन तत्कालका लागि विद्यालय पोसाकसमेत अनिवार्य नहुने निर्णय गरिएको छ ।
त्रिभुवन त्रिशूली माविका विद्यार्थीलाई वडा नम्बर ९ मा पढाइने
बाढीबाट सम्पूर्ण संरचना क्षति पुगेको विदुर नगरपालिका–१ त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पठनपाठन भने वडा नम्बर ९ बाट सञ्चालन गरिने भएको छ ।
विद्यालयका एक हजार ५० भन्दा बढी विद्यार्थीका लागि अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्न वडा नम्बर ९ स्थित सहरी विकास तथा भवन कार्यालयसहितको जग्गा र जिल्ला विकास समितिको कार्यालय रहेको जग्गा प्रयोग गर्न नगरपालिकाले सहमति दिएको छ ।
बाढीले विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षति पुर्याए पनि विद्यार्थीको पढाइ नरोकियोस् भन्ने उद्देश्यले वैकल्पिक स्थानबाट कक्षा सञ्चालनको व्यवस्था गरिएको हो ।
बाढीपछिको तत्कालीन राहतबाट दीर्घकालीन पुनःस्थापनातर्फ अघि बढ्ने क्रममा विदुर नगरपालिकाले आवास र शिक्षालाई प्राथमिकतामा राखेर प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउने प्रयास थालेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्