काठमाडौं । आज २३औँ निजामती सेवा दिवस मनाइँदैछ। तर, भोटेकोशी बाढीपछि देशमा सिर्जना भएको विषम परिस्थितिका कारण सरकारले यस वर्ष निजामती सेवा दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन।
भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ। बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै निजामती कर्मचारीसमेत प्रभावित भएका छन्। केही कर्मचारीले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन्।
यसअघि निजामती सेवा दिवसका अवसरमा प्रभातफेरी, वृक्षारोपण, उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा सम्मानलगायतका कार्यक्रम आयोजना हुँदै आएका थिए। तर, विपत्तिको अवस्थालाई ध्यानमा राख्दै यस वर्षका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गरिएको हो।
निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले कार्यक्रम रद्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू अहिले खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने अवस्था रहेकाले दिवसका औपचारिक कार्यक्रम स्थगित गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
सरकारले यस वर्ष निजामती सेवा दिवसका लागि विनियोजन गरिएको बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ।
नेपालमा २०६२ भदौ २२ गतेदेखि औपचारिक रूपमा निजामती सेवा दिवस मनाउन थालिएको हो। विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वमा सरकारले निजामती सेवा ऐन ल्याएको दिनको स्मरणमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइँदै आएको छ।
हाल नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत रहेको जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्