काठमाडौं, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालले पाउँदै आएको कानुनी सुरक्षा खोस्नेगरी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ट्विटरले उनको ट्विटमा तथ्यजाँच गर्ने (फ्याक्ट चेक) चिन्ह राखेपछि ट्रम्प ट्विटरविरुद्ध युद्धमा उत्रिएका हुन् ।
उनले आफ्नो व्यक्तिगत तनावलाई लिएर राष्ट्रपतिको शक्तिको प्रदर्शन गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । ट्विटरसँग तनाव बढेपछि उनले सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटाउने सम्बन्धी कार्यकारी आदेश जारी गरेका हुन् ।
उनले यसअघि नै सामाजिक सञ्जाल बन्द गराउने धम्की दिएका थिए ।
ट्रम्पले कार्यकारी आदेश जारी गरेसँगै अब नियामक निकायले फेसबुक तथा ट्वीटरसहितका सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीप्रति उनीहरुले गर्ने व्यवहारविरुद्ध कानूनी उपचार खोज्न पाउने छन् ।
समालोचक तथा कानुनका विज्ञहरुले सामाजिक सञ्जालहरुको सुरक्षाका लागि रहँदै आएको वर्तमान कानुनी व्यवस्था परिवर्तनका लागि अमेरिकी संसद वा अदालती प्रणालीको सहभागिता अनिवार्य रहेको बताएका छन् ।
हिंसालाई बढावा दिएको भन्दै ट्विटरद्वारा ट्रम्पको ट्विट (हाइड)
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमाथि कन्जरभेटिभ आवाजहरुमाथि बन्देज लगाएको वा सेन्सर गरेको अभियोग लगाउँदै आएका छन् । वाक स्वतन्त्रताको उल्लंघन भएको अभियोग उनको छ ।
यसअघि मंगलबार साँझ उनको एक ट्विटमा ट्विटरले तथ्य जाँचसम्बन्धी नोटिफिकेसन राखेपछि बुधबार ट्रम्पले ट्विट गरेर ठूलो कदम चाल्ने चेतावनी दिएका थिए । त्यसैगरी बिहीबार साँझ ट्रम्पले गरेको एक ट्विटले हिंसालाई बढावा दिएको भन्दै त्यसमा चेतावनी राख्दै ट्विट (हाइड) गरिदिएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्