काठमाडौं, ६ कात्तिक । कोरोना भाइरसको महामारीले अमेरिकामा हुलाकमार्फत पनि मतदानको व्यवस्था भएपछि ४ करोडभन्दा बढीले राष्टपति चुनावमा अग्रिम मतदान गरेका छन् ।
अहिलेसम्म चार करोड भन्दा बढी मतदाताले हुलाकमार्फत मतदान गरेको निर्वाचन आयोगलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिसहित आम चुनाव हुँदैछ । राष्ट्रपति चुनावमा हालका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।
पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन अघि देखिएका छन् । तर, केही महत्वपूर्ण राज्यहरुमा भने उनको अग्रता एकदमै कम छ ।
चुनावका लागि दुई हप्ता कम समय रहेका बेला ४७ राज्य र डिसीबाट प्राप्त भएको तथ्यांक अनुसार हुलाक वा अग्रिम मतदान स्थलमा गएर भोट हाल्नेको संख्या विगतको भन्दा धेरै पुगिसकेको देखिएको छ ।
सन् २०१६ को चुनावमा १३ करोड ६० लाख मत खसेको थियो । अहिलेसम्म खसेको मत त्यसको झण्डै ३० प्रतिशत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्