बनेपा, ११ माघ । कृषि क्षेत्रमा पाउने पारिश्रमिक महिला तथा पुरुषलाई समान गर्न महिलाले माग गरेका छन् ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले काभ्रेपलाञ्चोकको उग्रचण्डीमा आयोजना गरेको शान्ति निर्माणका लागि संवाद कार्यक्रममा उनीहरुले सामाजिक संरचनाका कारण ज्यालामा एकरुपता नभएको औँल्याए ।
उग्रचण्डीनालाकी भावना बजगार्इंले कृषि क्षेत्रमा पुरुष र महिलाले गर्ने काममा समानता भए पनि पारिश्रमिकमा विभेद भएको गुनासो गर्नुभयो । उहाँले महिलालाई कृषिमा आधारित काममा रु ४८० मात्रै दिइएको र पुरुषलाई रु ८०० दिएको जानकारी दिँदै समान ज्यालाका लागि सबै महिला एक हुनुपर्ने बताउनुभयो ।
उग्रचण्डीनालाकै रमा थापाले कृषिमा सामाजिक विभेदका कारण असमान ज्याला रहेको उल्लेख गर्दै श्रमको उचित पारिश्रमिक अधिकारको विषय भएको बताउनुभयो । बनेपा नगरपालिका– ३ का वडाध्यक्ष कृष्णप्रसाद दाहालले नीतिगत तहबाट समान ज्याला निर्धारणको तयारी भएको जानकारी दिँदै ज्यालामा असमानता सबै क्षेत्रमा रहेको बताउनुभयो । कृषि क्षेत्रमा पुरुषको तुलनामा महिला ज्यालामा ठगिँदै आएका छन् । (रासस)
–––
प्रतिक्रिया दिनुहोस्