काठमाडौँ, १५ माघ । रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने भएका छन् ।
लामिछाने निकट स्रोतका अनुसार उनी बिहान १० बजे बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाँदै छन् । उनले स्थानीय प्रशासनसँगको समन्वयनमा नागरिकता लिने प्रक्रिया अगाडि बढाउन लागेका हुन् ।
सर्वोच्चको आदेशमा नागरिकता लिने प्रक्रियाबारे केही नबोलेकाले प्रशासनले नियमित प्रक्रियाबाटै उनलाई नागरिकता प्रमाणपत्र दिने भएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगइ पुरानै नागरिकता प्रयोग गरेपछि लामिछानेविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।
सर्वोच्चले उनको सांसद पद बदर गरिदिएसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पदसमेत गुमेको छ ।
प्रतिक्रिया दिनुहोस्