काठमाडौँ, १८ माघ । नेकपा (माओवादी केन्द्र)को बुधबारलाई बोलाइएको स्थायी समिति बैठक स्थगित भएको छ । स्थायी समितिको बैठकको पूर्ण तयारी नभएकाले आजलाई बैठक स्थगित गरिएको पार्टीका स्थायी समिति सदस्य गणेश शाहले जानकारी दिए ।
स्थायी समितिको बैठकलाई आवश्यक गृहकार्य नपुगेकाले स्थगित भएको उनले बताए । “बैठकका एजेन्डा तथा अन्य कामको गृहकार्य नपुगेकाले अनि प्रधानमन्त्रीज्यूको व्यस्तताको कारण पनि होला । आजको बैठक स्थगित भएको छ । बैठक भोलिलाई सारिएको छ ।”
माओवादीले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिकालगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक डाकेको थियो ।
यसैबीच जारी पदाधिकारी बैठक पनि आज नबस्ने शाहले बताए । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँडको जिम्म अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्