ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सारंगीको कीर्तिपुर घराना


एबीसी / संवाददाता
२५ फाल्गुन २०७९, बिहिबार   ९ : १८   बजे

कीर्तिपुर, २५ फागुन । हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारंगी रेट्दै नेपाली संगीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारंगीका तारहरूमा हात चलाएर संगीतकै जीवनवृत्ति सुरु गरिसकेका छन् ।

आधुनिक सुगम संगीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम नेपालीहरूले बिताउन खोजेको सांगीतिक लय । देशका विभिन्न भागमा प्रेम, वीरता, वेदनाका कथा बोक्ने सारंगीको धुनलाई गन्धर्वहरूले निकै अघिदेखि जोगाउँदै आएका छन् । यही संगीत परम्पराको डोरोलाई अहिलेको समयसँग समेत जोडेर व्यापक बनाउने ठुलो अभियान छ नेपालीको ।

यसै अभियानलाई ‘सारंगीको कीर्तिपुर घराना’ नामबाट अगाडि बढाउँदै छन् श्याम नेपाली । घरानाका रूपमा अघि बढाउने निष्कर्षमा पुग्नुको कारक भने फ्रान्सलगायत संसारका विभिन्न स्थानमा पुग्दा भेटिएका आफ्ना पुर्खाको संगीत साधनासम्बन्धी सामग्री हुन् । सारंगीलाई चिनाउन विश्वका विभिन्न देश पुगेका श्यामलाई कतिपय स्थानमा पुग्दा त्यहाँका कतिपय संस्थाले उल्टो उनलाई आफ्ना पुर्खाको योगदानबारे चिनाइदियो । आफ्ना हजुरबुबाले राजा महेन्द्रसामु प्रस्तुत गरेको सारंगी वादन अरर्बाजा र त्यसैताका यसबारे गरेका थुप्रै खोज श्यामले फ्रान्सको लुभ्र सङ्ग्रहालयमा पाए । नर्वे घुम्ने बाबु रामशरण नेपाली र कीर्तिपुरमै लामो समय बिताएका झलकमान गन्धर्वका बारेमा ओस्लो विश्वविद्यालयमा गरिएको शोधपत्र भेटे ।

त्यस्ता कुरा भेटेपछि श्याम नेपाली आफ्ना पुर्खाले सयौँ वर्ष लगाएर विकास गरेको मौलिक सारंगी धुनलाई सकेसम्म उस्तै रूपमा संरक्षण गर्नुपर्ने निष्कर्षमा पुगे । “हजुरबुबा र बाले बजाएका धुनभन्दा अहिलेका धुन निकै फरक हुँदा रहेछन् । उनीहरूकै सन्तति मेरोसमेत सारंगी वादनमा आधुनिकताले छोएको कुरा उहाँहरूको वादन राम्ररी सुन्न थालेपछि थाहा पाएँ”, उनको अनुभूति छ ।

पुर्खाले संगीतमार्फत समाचार भन्थे । आजका सञ्चारमाध्यमले जसरी कर्खामार्फत कुनै घटनाको कहिले राजाका कामको वयान त कहिले जनताका वेदना, कहिले युद्धको विवरण सारंगी रेट्दै घटनालाई प्रस्तुत गर्ने जमाना थियो त्यो । त्यसलाई खोजेर जगेर्ना गर्नुपर्ने दायित्व संगीतप्रेमीहरूको भएको उनको भनाइ छ । तर यस्तो खोजबिनको काम धेरैको प्राथमिकतामा नपर्ने तर कसैले मेहनतपूर्वक खोजेर ल्याएको वस्तुलाई विभिन्न ढंगले प्रयोग गर्नचाहिँ खोज्ने प्रवृत्ति रहेको उनी बताउँछन् । “बोटबिरुवा रोप्न, गोडमेल गर्न र मल हाल्न धेरै जना अघि नै सर्दैनन् । फल पाकेपछि भने सबैलाई त्यही मन पर्छ”, उनी भन्छन् ।

जे होस्, आफ्नो क्षेत्रबाट हुनसक्ने जति खोज गरेर कीर्तिपुर घरानाको विकास गर्ने र त्यसको पहिचानलाई अगाडि बढाउने सोच उनको छ । यसका लागि आफू र सङ्गीतमै लागेका छोरा प्रिन्सले पहल गरिरहेको पनि उहाँले बताउनुभयो । छोराले पुर्ख्यौली संगीत शैलीलाई आनीछोइङ डोल्मा र न्ह्यू बज्राचार्यसँगको सहकार्यबाट केही आध्यात्मिकपन दिँदै गएका छन् ।

त्यसो त सारंगीलाई ‘ए यो त गन्धर्व बाजा हो’ भन्ने र हरेक दिन त्यस्तै टिप्पणीबाट होच्याउने र निरुत्साहित गर्ने प्रवृत्ति छ । आफू काठमाडौँवासी हुँदासमेत त्यस्तो व्यवहार हुन्छ भने गाउँतिर त झन् कस्तो होला ? उनको प्रश्न छ । गन्धर्व गीत भनेर हेपिएपछि राम्रा धुनहरू भने चोरीसमेत हुने गरेको अनुभव उनको छ । “ए दाजु न समाऊ नारीमा…, भन्ने गीतको नक्कल गरियो, जसको सिर्जना हाम्रा पुर्खाले सारंगी रेटेरै गरेका थिए,” उनको भनाइ छ । सम्पदाका रूपमा रहेका मौलिक धुनलाई संरक्षण गर्नेभन्दा पनि पाएमा त्यसका व्यापारिक उद्देश्यका साथ प्रयोग गर्ने प्रवृत्ति हावी रहेको उनको निष्कर्ष छ ।

सारंगीलाई चिनाउन संसारका विभिन्न ठाउँ पुग्ने क्रममा हार्डवर्ड विश्वविद्यालयमा एक वर्ष बिताए श्याम नेपालीले । विश्वविद्यालय र त्यसअन्तर्गतका कलेजहरूमा नेपाली मौलिक बाजा, यसको धुनबारे फरक पृष्ठभूमिबाट आएका र नेपाल कहिल्यै नदेखेका लाई समेत सारंगीबारे बताउने अवसर पाए । आफ्नो त्यही अभियानमा छोराहरूको समेत साथ पाएका छन् ।

आफूले विकास गर्न र फैलाउन चाहेको कीर्तिपुर घराना भने सयौँ वर्ष अघिदेखि कीर्तिपुरमा बसेर पुर्खाले विकास गरेको धुनलाई सकेसम्म त्यसको मौलिकता बचाएरै आधुनिक युगसँग परिचित गराउने अभियान भएको भनाइ उनको छ । “पोखरा, प्युठान र भोजपुरजस्ता ठाउँमा बज्ने सारंगीभन्दा फरक छ, कीर्तिपुरको सारंगी वादन”, उनी थप्छन् । धुनमात्र नभई त्यसले बोक्ने शब्दसमेत अर्थपूर्ण र इतिहास बोक्ने खालका छन् । तिनलाई दोहोरीको भाकाजस्तो आफूले चाहेको शब्द हालेर गाउन नसकिने उनी बताउँछन् ।

प्रकृति र इतिहास, पोखरामा बज्ने सारंगीको धुनमा गाइने गीत र कीर्तिपुरमा आफ्ना बाबुबाजेले गाउने गरेको गीतमा मुख्य दुई भिन्नता पाउँछन् श्याम नेपाली । आफ्ना पुर्खाले सारंगी रेट्दै गाएको गीतमा तत्कालीन शासक र व्यवस्थाभित्रका कथाव्यथा बढी भेटिने र पोखरातिरका गीतमा भने प्रकृतिको वयान भेटिने पनि उनी बताउँछन् । गन्धर्वहरूलाई गाउनका लागि निश्चित स्थान तोकिदिने र त्यसवापत जग्गा जमिन दिने चलनसमेत कुनै बेला थियो । त्यतिबेला छोराबाट नाति, नातिबाट पनाति हुँदै पुस्तान्तरण हुँदा एउटा विशेष शैलीको सारंगी वादन सिर्जना भएको छ । त्यसैलाई कीर्तिपुर घरानाको नाम दिइएको पनि उनी बताउँछन् ।

उतिबेला घराना नभनिए पनि आफ्नो परिवारले बजाउँदै आएको सारंगी वादन थुपै लोकप्रिय गीतमा प्रयोग भएको जानकारी उनी दिन्छन् । उदाहरणका लागि श्यामले बजाएको कर्ण दासको ‘पुरानो डुङ्गा…पानीको छाल…”, बोलको गीतमा प्रयोग भएको सारंगीको धुन । आनीछोइङको फूलको आँखामा…फूलै संसारमा पनि सारंगी प्रयोग भएको छ । “त्यस्ता थुप्रै गीतमा कीर्तिपुर घरानाको धुन बजेको छ”, उनी भन्छन् । त्यतिमात्र नभई विभिन्न एफएमका जिंगल र एनसेलको धुनमा समेत कीर्तिपुर घरानाको सारंगी बजेको छ ।

आफूभन्दा अघि पिताले त्यतिबेलाको चर्चित लोकगीत ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास …’ बोलमा पनि कीर्तिपुर घराना बजेको छ । एउटा परिवारले पुस्तौँ संगीत अभ्यास गर्दा विकास भएको शैलीलाई घरानाको रूप दिएर नेपाली संस्कृतिमा एउटा आयाम थप्न खोजेको उनको भनाइ छ । यसलाई अगाडि बढाउन आफूले सकेसम्म प्रयास गर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group