काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्ने भएका छन् ।
शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्नेतलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी छ ।
यसअघि ऊर्जा मन्त्रालयमा अमनलाल मोदीको चर्चा थियो । बस्नेतले भने गृह मन्त्रालयमा इच्छा देखाएका थिए । तर, उपाध्यक्षसमेत रहेको भौतिक, पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने भएपछि बस्नेतलाई ऊर्जा मन्त्रालय दिन लागिएको हो ।
माओवादीनिकट स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका मोदीलाई भने महिला तथा बालबालिका मन्त्रालय दिने तयारी छ । संघीय मामिला मन्त्रालय भने कांग्रेसको भागमा परेको छ ।
बस्नेत लगातार तीनपटक संसदीय निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका हुन् । २०७० सालमा भएको संविधानसधाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका उनी गत मंसिरमा भएको निर्वाचनमा ३४ हजार १५१ मतसहित निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्